हिमालपारीको जिल्ला मनाङमा फेरी दुई जना शिक्षक कोरोना संक्रमित देखिएका छन्। हिमाली जिल्ला मनाङ उक्लिएका दुईजना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार कोरोना पुष्टि भएका ती शिक्षक चितवन र मोरङबाट मनाङ पुगेका थिए।
कोरोना भाइरसका एकजना संक्रमित निको भईसकेपछि हिमालपारिको जिल्ला मनाङ गत असार मध्यदेखि संक्रमण मुक्त भएको थियो।
स्वास्थ्य कार्यालय मनाङका निमित्त प्रमुख बद्रीराज आचार्यका अनुसार चितवनको भरतपुर–११ घर भई मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको पिसाङ आधारभुत विद्यालयका ५७ वर्षीय र मोरङको बिराटनगर–११ घर भई ङिस्याङकै ङावल आधारभुत विद्यालयका ५१ वर्षीय शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु दुवैजना साउन २१ गते कार्यक्षेत्र पुगेका थिए।
आचार्यका अनुसार सरकारले शिक्षकहरुलाई विद्यालयमा उपस्थित हुन भनेपछि ती शिक्षकहरु कार्यक्षेत्र पुगेका थिए। शिक्षकहरुको त्यो समूहमा १२ जना थिए।
संक्रमित शिक्षकद्वयको अवस्थामा सामान्य छ। उनीहरुलाई कुनैपनि स्वास्थ्य समस्या छैन। आचार्यले ती शिक्षकहरुको सम्पर्कमा आएका व्यक्ति पहिचान गरेर उनीहरुको पनि नमुना परीक्षण गर्ने तयारी भएको बताए। तराईबाट हिमाली जिल्ला उक्लिएका ती शिक्षकहरु क्वारेन्टिनमै बसेका थिए।
संक्रमण पुष्टि भएका शिक्षकद्वय सदरमुकाम चामेबाट एकदिन पैदलयात्रापछि पुगिने गाउँका विद्यालयमा अध्यापन गराउँछन्। संक्रमण पुष्टि भएपछि ती शिक्षकलाई अहिले सदरमुकाम चामेस्थित अस्पतालको आइसोलेसन कक्षमा ल्याउने तयारी भईरहेको आचार्यले बताए।
अहिले फेरी १८ जनाको नमूना संकलन गरि परीक्षणका लागि पोखरा पठाइएको आचार्यलेजानकारी दिए ।
मनाङमा यसअघि कपिलवस्तुबाट गएका एकजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो। कपिलवस्तुका ती संक्रमित मनाङको एक कार्यालयमा कार्यरत थिए। आचार्यका अनुसार मनाङमा हालसम्म ८१ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ।