देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ।
नेपालमा मंगलबार थप तीनजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछी सङ्ख्या ८३ पुगेको हो ।धनुषाका २ तथा सिन्धुपाल्चोकका १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार धनुषा विदेह नगरपालिका-८ बस्ने ६० वर्षिय पुरुषको साउन २६ गते राती १० बजे प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। उनी क्षयरोगका विरामी समेत थिए। उनी गत साउन ८ गते निमोनिया भई अस्पतालको आईसियुमा भर्ना भएका थिए।
यस्तै धनुषाकै मिथिला विहारी नगरपालिका-५का ५० वर्षीय पुरुषको साउन २५ गते निधन भएको हो। झाडापखाला लागि अस्पताल आउँदै गर्दा बाटोमा बेहोस भई लडेको र उनलाई अस्पतालमा मृत घोषित गरिएको थियो। उनमा मृत्यु पश्चात कोरोना पुष्टि भएको हो।
यस्तै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ का ८४ वर्षिया एक पुरुषको साउन २२ गते मनमोहन कार्डियो भास्कुलर शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। साउन २१ गते अस्पताल भर्ना भएका उनमा मुटु तथा मिर्गौला सम्बन्धी समस्या थियो।