प्रचण्डले बुझ्ने कुरा हो कि राजनीतिक बिचारधारा या कार्यदिशा सही वा गलत हुनुले सबै कुराको छिनोफानो गर्दछ, कार्यदिशा सही भयो भने आज नभएको कुरा भोली प्राप्त हुन्छ यदी गलत भयो भने भएको पनि गुम्छ भन्ने माओको उद्धरण तपाईले धेरै आफ्ना प्रतिवेदन र दस्तावेजहरुमा उल्लेख गर्नु भएको छ ।
अहिले नवीना लामाले हैसियत सोधेको बारे सामाजिक सञ्जालमा टिप्पणी हुनु अनौठो होईन र यसको सार्थकता पनि छैन । कारण यसरी हेरौँः
तपाईले १७ हजार मानिसको ज्यान जाने गरी भएको जनयुद्धलाई जनताको मुक्ति नहुदा सम्म हतियार बिसाईने छैन , त्यसो गरीयो भने त्यो राजनीतिक अपराध हुन्छ भन्नु भएको थियो । आफैले जारी गरेको प्रतिवद्धताको बुँदा नं ३ पल्टाउनु होला , जनयुद्ध शुरु गर्नु अघि ।
आज कहाँ पुर्याउनु भयो त ? फेरी घुमाएर सेना विघटन गराउनु भयो। आफ्नै सांगठिक शक्ति आफ्नै कारण क्षतविक्षत बनाउनु भयो। सहयोद्धाहरुलाई मानमर्दन जस्तै गरेर हिड्न बाध्य पार्नु भयो । शहीद वेपत्ता, कार्यकर्ताको वास्ता छाडेर दलाल पूजिपतिहरुसगँ हिमचिम बढाउनु भयो ।
सारतः जनतामा व्यक्त प्रतिवद्धताहरु पूरा भएनन, आशिंक केही गर्न खोज्नु भयो , परम्परागत शक्तिहरुले दिएनन् ।

अहिले जतिसुकै कस्मेटिक टर्मिनोलोजी दिए पनि तपाईले वैज्ञानिक समाजबादतिर यही पद्धतिबाट यात्रा गर्न सक्नु हुन्न । यो फगत संसदीय व्यवस्था मात्रै रहने हो । यदी यसो हो भने नवीना लामा र प्रचण्डको हैसियत भनेको नेकपा संसदीय दलमा संसदका हिशाबले बराबर हो । अर्थात एक एक मत हो । सरकारका लागि । नवीना लामालाई अझै मन्त्री हुदै ठूला पद तिर जाने लक्ष्य हुने नै भयो । अतः यहाँ जसले पद पैसाको खेल मिलाउन सक्छ उही ठूलो हुने हो, नवीना लामालाई सांसद बनाउने , अखिलको अध्यक्ष बनाउने त कमरेड ओली हो, त्यसैले उनले तपाईलाई नगन्नु स्वभाविक हो । चित्त दुखाएर काम छैन ।
पार्टी संगठनका हिशाबले तपाई दोस्रो तहको अध्यक्ष हुनुहुन्छ । सत्ता र शक्तिको प्रभावमा तपाईसगैँ एमालेसगँ मिल्न गएका कामरेडहरु पनि बालुवाटारतिर हिमचिम बढीरहेको सार्वजनिक भएको छ नि । तसर्थ, एक युगमा तपाईका कारण जनयुद्ध भयो, विश्व ईतिहासमा तपाईका ती योगदानहरु सदैब सम्मानयोग्य रहनेछन्, अमिट छ । तर दोस्रो युगमा तपाईले घात गर्नु भयो, जनतालाई , कार्यकर्तालाई धोका दिनु भयो। यो नकारात्मक पाटो सर्धै बिर्सन लायक रहनेछ र ईतिहासले धिक्कारी रहने छ ।
अब तेस्रो युग बाकीँ छ ः उमेर , परिस्थिति सबै आकलन गर्दा अब तपाईलाई निर्णायक हुन पूर्व एमालेहरुले दिने देखिदैन। तपाईको ३५ बर्षको उमेरदेखिको जुन तीव्रतामा निर्णय र एक्सन गर्न सक्ने क्षमता थियो , त्यो अब शायद कमजोर भयो । त्यसैले अब तपाईकै नेतृत्वमा अर्को कुनै युगान्तकारी कदम देशका लागि पनि पार्टीका लागि पनि धेरै कम संभावनाको बिषय हो । तर जिनले काम गरेर अघि बढ्नु भयो भने भन्न सकिन्न । यो केवल प्रतिक्षाको बिषय हो । यी सुझाव र आलोचनाहरुसगँ नडराउनु होला , किन भने जनयुद्ध लडेर आएको एक सिपाहीले गरेको आलोचना तपाईका लागि आक्रोसको बिषय हैन औषधीको बिषय बनोस् । धन्यवाद ।
(लेखक बिद्रोही ने.क.पा. नेता हुनुहुन्छ र पार्टी निकट तात्कालिन क्रान्तिकारी पत्रकार संगठनका महासचिब हुनुहुन्थ्यो-सम्पादक)