नेपाली काँग्रेसका सबै तहका पदाधिकारीले सामुहिक राजिनामा गरेका छन् । आफूहरुको कुरा नसुनेर प्रदेश मुकाम विराटनगर तोकेको भन्दै धनकुटा पार्टी सभापतिसहित सबै तहका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका हुन् ।
शनिबार पत्रकार सम्मेलन गरेर जिल्ला सभापति अग्नीप्रसाद पौडेलले जिल्ला, नगर र गाउँपालिकासहित सिंगो पार्टीले सामुहिक राजिना दिएको जानकारी दिए ।
राणाकालदेखि हालसम्म क्षेत्रिय सदरमुकामको रुपमा कायम रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार रहेपनि नेतृत्व तहले उपेक्षा गरेकोले पार्टी सिंगो जिल्ला पार्टीले सामुहिक राजिनामा दिनु परेको विज्ञप्तिमा उल्लेख छ ।
“प्रदेश १ का अधिकांश जिल्लासँग सडक सञ्जाल जोडिएको, सुरक्षा दृष्टिकोणले उपयुक्त, भौगोलिक सुगमता र हावापानीले समेत उपयुक्त रहेको धनकुटालाई उपेक्षा गर्दै अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पर्नेगरी अस्थायी राजधानी तोकिएकोमा धनकुटाबासी अत्यन्तै दुःखी भएको र अन्यायमा परेकोले संयुक्त राजीनामा दिन बाध्य भएका हौं” सभापति पौडेलले बताए ।
धनकुटाबासीले ३६ दिनदेखि लगातार आन्दोलन गर्दा पनि कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको अदुरदर्शी र अन्यायपूर्ण निर्णयप्रति गम्भीर असहमति रहेको पौडेलले बताए ।
विज्ञप्तिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसदलाई अभियानमा साथ दिन आग्रह समेत गरिएको छ । पत्रकार सम्मेलनको पार्टी नेता दिनेश राई, विष्णु पौडेल, खेम पौडेललगायत दर्जनौ कार्यकर्ताको उपस्थिति थियो । राजिनामा गर्नु पहिले बैठक बसेको काँग्रेस धनकुटाले जानकारी दिएको छ ।