९ भदौ, पाँचथर । २२ वर्षीया तारा लुवागुनलाई सुत्केरी व्यथा लागेका बेला छिमेकी लयप्रसाद सङ्ग्रौला आफ्नो खेतमा पानी लगाउन गएका थिए । त्यहीबेला घरमा कोही मानिसको होहल्ला सुनेपछि उनी दौडिदै फर्किए । घर पुगेपछि उनले देखिहाले लुवागुनलाई केही महिलाले डोरीमा झुण्ड्याएर केहीले पछाडिबाट ठेल्दै त केहीले छेउ छेउबाट निचोरिरहेका थिए ।
संग्रौलाले सोधे– यो के गरेको ? त्यहाँ भएका महिलाले जवाफ दिएछन्, ‘‘यसलाई सुत्केरी गराउन लागेको ।’ तत्काल संग्रौलाले ससम्झाए । यस्तो गर्दा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्ने जानकारी गराए । अनि तुरुन्त सवारीसाधनको व्यवस्था गरेर आफ्नै अग्रसरतामा जिल्ला अस्पताल लगे ।
पाँचथरको हिलिहाङ–४ साबिक पञ्चमी–८ की एक सुत्केरी तारा लुवागुनको झण्डै ज्यान गएको थियो । समयमै
जिल्ला अस्पताल पुर्याउन सक्दा ज्यान बचेको छ ।
नियमित गर्भ जाँचसमेत गरेको बताउने लुवागुनलाई सुत्केरी हुन भने कसैले पनि अस्पताल जानुपर्छ नभनेको सुनाउँछिन् । बरु ‘हामीले कतिवटा बच्चा जन्मायौं’ भन्दै स्थानीयवासीले घरमै बच्चा जन्मिन्छ भनेको उनले सुनाईन् ।
अहिले उनी अस्पतालको शैयामा आफ्नी छोरीका साथ छिन् । अहिले उनी भन्छिन्, ‘धन्य छ, लय काकाले मलाई बचाउनुभयो,’ उनले भनिन् । अरूले अस्पताल जानु पर्दैन यहीँ हुन्छ भनेपछि आफूले डोरीमा झुण्डिएर बच्चा जन्माउन खोजेको लुवागुनले बताइन् ।
‘मैले केहीबेर ढिला गरेर देखेको भए यी महिला र बच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो’, सङ्ग्रौलाले भने, ‘हाम्रो समाजमा चेतनाको कमी त छँदै छ, तर यतिसारो पिछडिएकै छ भन्ने मलाई नै थाहा थिएन ।’
आर्थिकरुपमा समेत कमजोर र परिवारका अन्य सदस्यसमेत अपाङ्ग भएकी ती दलित महिलाका लागि सङ्ग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोगसमेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतबाट करिब रु १५ हजारभन्दा बढीको सहयोग भएको तारा स्वयंले बताइएन् ।
महिलाको शारीरिक अवस्थाको कारण पनि शल्यक्रिया गर्नु परेको भए पनि अहिले उनको र बच्चाको अवस्था सामान्य भएको डा. पवनकुमार साहले बताए । रासस