सप्तरी/ निरन्तरको वर्षापछि स्थानीय खोलामा आएको बाढीले घर डुबानमा परेपछि सप्तरीवासी बिचल्लीमा परेका छन् । कतिपय बाढीपीडितको घरमा अझै दुई फिटसम्म पानी जमेका कारण सुत्न र खाना पकाउन समस्या देखिएको छ । राजधानीमा समाचार छ । कतिपय बाढीपीडित सुरक्षित स्थान खोज्दै आफन्तको शरणमा पुगेका छन् भने केहीले सडककिनारलाई नै खाना पकाउने स्थलका रूपमा प्रयोग गरिरहेका छन् ।
शनिबार तटबन्ध भत्काएर खाडो खोलाको पानी गाउँ पसेपछि सप्तरीको मलेठ, तिलाठी, रायपुर, रुपनी, त्रिकौल, तिरहुत, कञ्चनपुरलगायत स्थानका १ हजार ५ सय बढी घरमा क्षति पुगेको छ । बाढीले २ सय ३० घर बगाएको छ भने बाँकी घरमा समेत क्षति पुगेकाले स्थानीयवासीको बिचल्ली भएको हो ।
घरभित्र पसेको बाढीले खाद्यान्न, लत्ताकपडालगायत सामग्रीमा समेत क्षति पुगेपछि बालबालिका, वृद्धवृद्धा, बिरामी बढी समस्यामा परेका छन् । जिल्लास्थित दैवी प्रकोप उद्धार समितिको बैठक आइतबार साँझ बसे पनि तत्काल राहत घोषणा नगरेपछि पीडितहरू भोकै बस्न बाध्य छन् । उद्धार समितिका अध्यक्ष एवं सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसको सो बैठकले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत सामग्री पु¥याउन र अनुगमनका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको हो ।
बाढीले घरबार गुमाएको दुई दिन बितिसक्दा समेत प्रभावितको लगत संकलनसमेत हुन सकेको छैन । राहतको पर्खाइमा रहेका बाढीपीडितले स्थानीय प्रशासनले बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् । पानी पर्न रोकिएपछि हिजो साँझबाट पानीको सतह घटे पनि गाउँ नै हिलाम्मे बनेपछि स्थानीयवासी घर फर्कन सकेका छैनन् । आइतबार बिहान केहीबेर वर्षा रोकिएर राहत महसुस गरेका बाढीपीडितले साँझ पख पुनः पानी सुरु भएपछि त्रसित भएका छन् ।