मुगु/ पाटनबाट यार्सागुम्बा टिपेर घर फर्कंदै गरेका मुगुका एक गाउँका बाबुछोरासहित तीनजनालाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
शनिबार बेलुका पाँच बजे यार्सा टिपेर घर फर्कंदै गरेका मुगमकार्मारोङ गाउँपालिका–६ का ३४ वर्षीय तेन्जेन लामा, १४ वर्षीय उर्गिन लामा र २४ वर्षीय कुन्जाङ लामा गाउँभन्दा एक घन्टा टाढा–५ वडामा रहेको सेरोगगाढ खोला तर्दै गर्दा बाढीले बगाउँदा बेपत्ता भएको स्थानीय पेमा तार्के लामाले बताए । बेपत्तामध्ये तेन्जेन र उर्गिन बाबुछोरा हुन् ।
जिल्ला प्रहरी कार्यालय, मुगुमा बुझ्दा सेरोगगाडमा पुअ गाउँका तीन जनालाई खोलाको बाढीले बेपत्ता पारेको जानकारी आएको तर को भन्ने नाम खुल्न नसकेकाले घटनास्थल नजिक रहेको पुलु प्रहरी चौकीको प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिए ।
साँझपख घटना हुँदा र एकै गाउँका बाबुछोरासहित तीन जनालाई बाढीले बगाउँदा पूरै पुअ गाउँका स्थानीय बासिन्दा शोकमग्न भएका छन् भने बेपत्ताहरू पाउने आशामा गाउँले तथा प्रहरीहरू मुगु कर्णाली नदीको छेउछाउमा खोजी गरिरहेका छन् । घटना भएको तीन घन्टाभन्दा बढी भइसकेकाले जिवित पाउने आशा गाउँलेले मारिसकेका छन् । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट एक दिन पूर्व दक्षिणमा पर्छ ।