पोखरा, ११ कार्तिक २०८३।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन भ्रमणमा जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री आचार्यसहित २० जना सांसदहरू कात्तिक २९ गते चीन प्रस्थान गर्न लागेका हुन्। भ्रमण १० दिनको हुनेछ।
भ्रमण टोलीमा को-को सहभागी हुने भन्ने अन्तिम टुंगो लागिसकेको छैन। पार्टीका एक सांसदका अनुसार महामन्त्री आचार्यले सहभागी हुन इच्छुक सांसदहरूको नाम माग गरेका छन्।
ती सांसदले भने, ‘महामन्त्रीज्यूले सहभागी हुने सांसदहरूको नाम माग्नुभएको छ । भाइटिकाको चार दिनपछि १० दिने भ्रमणमा निस्कदैँछौँ । को-को सहभागी हुनेमा टुङ्गो लागेको छैन । बाँकी कुरा महामन्त्रीलाई नै सोध्नुभयो भने थाहा हुन्छ।’
उनका अनुसार अहिलेसम्म महामन्त्री आचार्यसहित सांसदहरू लिमा अधिकारी, हरि ढकाल र समीक्षा बास्कोटा सहभागी हुने निश्चित भएको छ भने अन्य सदस्यहरूको नाम टुंगो लाग्न बाँकी छ। सबै नामको टुंगो लागेपछि पार्टीले औपचारिक रूपमा सार्वजनिक गर्ने उनले बताए।
भ्रमणको एजेन्डाबारे भने केही खुलाइएको छैन।
यसअघि रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय टोली चीन जाने तयारी भएपनि भ्रमण अन्तिम समयमा रोकिएको थियो।