प्रतिनिधिसभा सदस्य पौडेलद्वारा पोखराको सेती र फिर्के खोला पुलको अनुगमन : दिए यस्तो कडा निर्देशन

प्रतिनिधिसभा सदस्य पौडेलद्वारा पोखराको सेती र फिर्के खोला पुलको अनुगमन : दिए यस्तो कडा निर्देशन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, ३० असोज २०८३
  • 152
    Shares

पोखरा, ३० असोज २०८३।

प्रतिनिधिसभा सदस्य उत्तम पौडेलको निर्देशन

https://www.facebook.com/share/v/1Sgnn4hbrQ/

कास्की निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले पर्यटकीय नगरी पोखराको लाइफलाईन ठानिएका तर निर्माणका क्रमम रहेका दुई वटा पुलहरुको बिहिबार अनुगमन गरेका छन्।

प्रतिनिधिसभा सदस्य पौडेलले बिहिबार निर्माणाधीन पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित सेती नदी पुल र पोखरा महानगरपालिका वडा नं. ३ र ५ जोड्ने फिर्के खोला पुलको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उनले दुवै आयोजनाको भौतिक प्रगति, निर्माणको गुणस्तर, समयमै काम सम्पन्न गर्न देखिएका समस्या र चुनौतीबारे जिज्ञासा राखेका थिए भने मुग्लिङ-पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवर र सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले आयोजनाको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे जानकारी दिएका थिए। त्यति मात्र हैन प्रतिनिधि सभा सदस्य पौडेलले कुनै पनि बहाना नगरी निर्धारित समयमा नै योजना सम्पन्न गर्न निर्देशन दिएका थिए।

त्यस अवसरमा मुग्लिङ-पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्णबहादुर कुँवरले पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन पुलको काम करिब ७० प्रतिशत सम्पन्न भएको र आगामी दुईदेखि तीन महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको जानकारी दिए।

उनले चीनबाट आवश्यक जनशक्ति ल्याउनुपर्ने र चिनियाँ कामदारले इन्जिनियरिङबाहेकका अन्य काम गर्न नसक्ने अवस्थाका कारण निर्माणमा केही ढिलाइ भएको बताए।

सांसद पौडेलले पुल क्षेत्रमा बारम्बार दुर्घटना हुने गरेको उल्लेख गर्दै निर्माण कार्यलाई शीघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिए । मूल्यवृद्धिका कारण आगामी दिनमा निर्माण हुने पुलको लागत करिब दोब्बर हुन सक्ने अवस्था रहेको भन्दै उनले चाडपर्वको समयमा आवागमन सहज बनाउन र दुर्घटना न्यूनीकरण गर्न आवश्यक सतर्कता अपनाउन आग्रह गरे ।

करिब १० देखि १२ वर्षदेखि अलपत्र परेको पोखरालाई उत्तरी क्षेत्र जोड्ने पोखरा-बागलुङ् राजमार्ग अन्तरगत पोखरा-३ र ५ जोड्ने फिर्के खोला पुल निर्माण कार्यको पनि प्रतिनिधि सभा सदस्य पौडेलले अनुगमन गरे।

पुरानो डिजाइन तथा ठेक्का सम्झौतासम्बन्धी विवाद समाधानको दिशामा अघि बढेकाले डिजाइन परिमार्जन गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको सडक डिभिजन पोखराका प्रमुख कृष्णराज अधिकारीले बताए ।

नयाँ योजनाअनुसार आकर्षक डिजाइनमा पुल निर्माण गर्नुका साथै दुवैतर्फ पैदलयात्रीका लागि फुटपाथ बनाउने र आसपासको क्षेत्रलाई सुन्दर तथा व्यवस्थित बनाउने लक्ष्य राखिएको छ। आगामी मंसिरसम्म टेन्डर आह्वान गरी नियमअनुसार निर्माण प्रक्रिया अघि बढाउने तयारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार