काठमाडौँ, १४ असोज २०८३।
मेला हेर्न गएका एक व्यक्तिको गोली हानि हत्या गरेर भागेका एक जना १८ वर्षपछि सिरहामा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरसँगको समन्वयमा प्रहरीले सर्लाही जिल्लाको साविक नेत्रगंज गा.वि.स. वडा नं. २ हाल लालबन्दी नगरपालिका वडा नं. २ बस्ने इन्दल पासवानलाई मंगलबार लालबन्दी–२ बाट पक्राउ गरेको हो।
पासवान सहितका व्यक्तिहरुले २०६५ साल फागुन १२ गते दिउसो तीन बजे सर्लाहीको साविक नेत्रगंज गा.वि.स. वडा नं. २ बस्ने विरेन पासवानलाई गोली हानि हत्या गरेर भागेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार चिताइन मेला हेर्न घरबाट निस्किएका पासवान २०६५ साल फागुन १२ गते राति करिब १० बजे नेत्रगञ्ज गाविस–२ स्थित खाली जग्गामा छातीमा गोली लागेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–२ का इन्दल पासवान समेत घटनामा संलग्न रहेको खुलेपछि उनी फरार भएका थिए।
पक्राउ परेका पासवानलाई सम्मानित सर्लाही जिल्ला अदालतको आदेशले पुर्पक्षको लागि सर्लाही कारागार चलान गरिएको प्रहरीले बताएको छ।
इन्दल यसअघि हातहतियार तथा खरखजाना मुद्दामा महोत्तरी जिल्ला अदालतबाट दोषी ठहर भई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेको प्रहरीले जनाएको छ। उनीविरुद्ध महोत्तरी र धनुषामा चोरी तथा डाँका मुद्दासमेत चलेको प्रहरीको भनाइ छ।