पोखरा, २७ भदौ २०८२।
बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ३५ जना घाइते भएका छन् ।
बुधबार राति तमानखोला–६ नर्जाखानीमा चट्याङ लाग्दा स्थानीय ७१ वर्षीया मनकली वि.क.को मृत्यु भएको र अन्य ३५ जना घाइते भएका वडाध्यक्ष चित्रबहादुर छन्त्यालले जानकारी दिए । घाइतेहरूको नर्जाखानी आधारभूत स्वास्थ्य सेवा केन्द्रमा उपचार भइरहेको छ ।
वडाध्यक्ष छन्त्याल आफैं पनि बायाँ खुट्टामा चोट लागेर घाइते भएका छन् । चट्याङकै कारण नर्जाखानी गाउँका करिब ६० घरमा क्षति पुगेको छ । बरागोस र पाल्ले खानीखोला लघु जलविद्युत् आयोजनासमेत पूर्णरुपमा क्षति पुग्दा हाल त्यस्तो क्षेत्रमा विद्युत् अवरुद्ध भएको छ ।
यसैगरी, जैमिनी नगरपालिका–८ अर्खलाबोटस्थित बलबहादुर नेपालीको घरमा चट्याङ पर्दा तीन जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।