पोखरा, २२ भदौ २०८२ ।
नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनको सट्टा नक्कली परिक्षार्थी बनेर परिक्षा दिईरहेका उनका छोरा पक्राउ परेका छन्।
वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा संचालित स्नातकोत्तर तह दोस्रो वर्षको मौका परीक्षामा कांग्रेस नेता साहबुद्धिनको सट्टा नक्कली परिक्षार्थी बनेर परिक्षा दिईरहेका उनका २५ वर्षीय छोरा महमद अफताबलाई प्रहरीले पक्राउ गरेको हो।
वीरगन्ज महानगरपालिका-३ छपकैया निवासी कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिन आइतबार ठाकुरराम क्याम्पसमा चलिरहेको मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परिक्षार्थी थिए। तर उनको सट्टा परीक्षा दिँदै गरेका बेला उनका छोरा अफताब पक्राउ परेका प्रहरीले जानकारी दिएको छ।
सिम्बोल नम्बर १५२७०२३ नम्बरका परीक्षार्थी साहबुद्धिनको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिँदै गरेको अवस्थामा अफताब भेटिएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको क्याम्पस प्रमुख मोहन यादवले बताए ।
नक्कली परिक्षार्थीले परीक्षा दिइरहेको सूचना आएपछि परीक्षा हलमा गएर चेकजाँच गर्दा सिम्बल नम्बर १५२७०२३ नम्बरका परीक्षार्थी महमद साहबुद्धिनको सट्टा अफताबले परीक्षा दिँदै गरेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको उनले बताए ।
पक्राउ परेका अफताब र नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाएका साहबुद्धिन दुवै जनाविरुद्ध त्रिविको संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को दफा २७० ९क० अनुसार कार्बाही हुने क्याम्पस प्रमुख यादवले जानकारी दिए।
पक्राउ परेका अफताबलाई वडा प्रहरी कार्यालय वीर्तामा राखिएको पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।क्याम्पस प्रशासनले परीक्षा हलबाट नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको उनले बताए ।