पोखरा, १७ भदौ २०८२ ।
नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले स्थानीय बाटोमा संचालित जिपका चालकलाई बन्दुक तेर्स्याएर तर्साएका छन्।
कांग्रेस नेता राईले दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई सोमबार बिहान रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित आफ्नै घर अगाडी बन्दुक तेर्स्याएर यात्रीसहितको सुमो रोकी चालकलाई तर्साएका हुन्।
नेता राईले सुमो चालक सविन तामाङलाई भरुवा बन्दुक तेर्साउँदै यात्रुसहितको टाटा सुमोलाई रोकेका थिए । टाटा सुमो रोकेपछि राईले आफूहरुले सडक मर्मत गरेको भन्दै सहयोग रकम माग गरेको चालक तामाङले बताए। गाडी चल्न नदिन नेता राईले सडकमा बाँस तथा मुढाहरुले सडक अवरोध गरेको चालक तामाङले जानकारी दिए। समाचार स्रोत बेतना दैनिक