पोखरा, १७ भदौ २०८२ ।
बझाङमा एक शिक्षक रक्ताम्य भै बेहोश अवस्थामा भेटिएका छन्।
बझाङको मष्टा गाउँपालिका–१ रनाडा स्थित माइतिबन आधारभुत विद्यालयका अङ्ग्रेजी शिक्षक ध्रुवबहादुर रोकाया आइतबार राति बझाङ सदरमुकाम चैनपुरस्थित खुला मन्च नजिक रक्ताम्य भै बेहोश अवस्थामा भेटिएका हुन् ।
रोकायाको दायाँ कान र गालाको भागमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल बझाङमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धनगढी रेफर गरिएको परिवारजनले जानकारी दिएका छन्।
आज मात्र होशमा आएका गम्भीर ङ्घाइते शिक्षक रोकायाले तीन जना अज्ञात व्यक्तिहरूले आइतबार राती आफुसंग पैसा मागेकोमा आफुले नदिए पछि आफूमाथि धारिलो हतियार प्रहार भएको प्रहरी समक्ष वयान दिएका छन् । घाइते रोकायाले घटनाबारे बयान दिदै भने,`दुई–तीन जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले आफूलाई दुई हजार रुपैयाँ माग्दा दिन नमानेपछि धारिलो हतियार प्रहार गरी भागेका हुन् ।´
यता बझाङ प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र धमलाले भने अत्यधिक मदिरा सेवनका कारण शिक्षक आफैं लडेको हुन सक्ने प्रारम्भिक अनुमान रहेको बताएका छन्। तर पीडित परिवारले सामान्य रुपले सडकमा लड्दा त्यति ठुलो घाउ नहुने भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।
पछिल्लो समय चैनपुर क्षेत्रमा लागुऔषध दुरुपयोग र मदिराजन्य समस्या बढ्दै गएको भन्दै स्थानीयले यस किसिमका घटनामा संगठित समूहको संलग्नता हुन सक्ने आशंका व्यक्त गरेका छन्।