भैरहवाबाट ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ

भैरहवाबाट ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रसहित भारतीय नागरिक पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ३ भाद्र २०८२
  • 5.7K
    Shares

पोखरा ३ भदौ २०८२।

रुपन्देहीको भैरहवाबाट बिभिन्न बिस्वबिद्यालय लगायतका शैक्षिक संस्थाहरुको ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरूसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

भारतको कानपुर नौबस्ती बस्ने अभिषेक यादवलाई प्रहरीले बिभिन्न बिस्वबिद्यालय लगायतका शैक्षिक संस्थाहरुको ठूलो मात्रामा नक्कली शैक्षिक प्रमाणपत्रहरूसहित पक्राउ गरेको हो।

सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ भित्र प्रवेश गर्न लागेको अवस्थामा यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

अभियुक्त यादबको साथबाट प्रहरीले नेपाल र भारतका विभिन्न शैक्षिक संस्थाका नक्कली शैक्षिक प्रमाणपत्रहरू, स्ट्याम्प, होलोग्राम तथा स्टिकरहरू बरामाद गरेको प्रहरीले दाबी गरेको छ।

प्रहरीले यादवको साथबाट त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्ट सय थान, सर्टिफिकेट ३६ थान, ५ वटा स्ट्याम्प प्याड, ३ वटा स्ट्याम्प, होलोग्राम जस्तो देखिने त्रिभुवन विश्वविद्यालय २०१२ लेखेको ४ हजार ४० थान स्टीकर, उच्च माध्यमिक शिक्षा परिषद्को २ हजार थान स्टीकर, राष्ट्रिय परीक्षा बोर्ड लेखेको एक हजार ७ सय थान स्टीकर, सिटीईभीटी लेखेको एक हजार ९ सय थान होलोग्राम स्टीकर बरामद गरेको हो ।

यस्तै भारतको अमिटी युनिभर्सिटी उत्तरप्रदेश, जवाहरलाल नेहरू टेक्नोलोजी युनिभर्सिटी हैदरावाद, छत्रपति साहु जी महाराज युनिभर्सिटी कानपुर, आसाम उच्च विद्यालय काउन्सिल, कुरूक्षेत्र विश्वविद्यालय र आन्ध्रा युनिभर्सिटीका मार्कसीट, चारित्रिक प्रमाणपत्र, स्थानान्तरण प्रमाणपत्र, लेटर प्याड लगायतका नक्कली सादा कागजात बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले बताए ।

कार्कीका अनुसार विभिन्न कार्यालयको छाप, हस्ताक्षर, २ वटा मोबाइल , एक थान ल्यापटप, पेनड्राइभ, एटीएम कार्ड तथा नेपाली र भारतीय रुपैया पनि बरामद भएको छ ।

आइतबार साँझ यादव भारतबाट भैरहवा आएको गोप्य सूचनाको आधारमा उनी बस्न लागेको होटेलमा पुगेर सुटकेस जाँच गर्दा नक्कली शैक्षिक प्रमाणपत्रहरू, अन्य शंकास्पद कागजपत्र र सामान फेला परेपछि नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने काममा गिरोह नै हुन सक्ने आशंका गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

पक्राउ परेका यादवलाई अदालतबाट पांच दिन थुनाको अनुमति लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार