सरकारले तीन विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ। पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर प्रेमनारायण अर्याल नियुक्त भएका छन्। अर्यालले बुधबार नियुक्ति बुझेका हुन्।
नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापक डाक्टर यादवप्रकाश लामिछाने र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्राध्यापक डाक्टर पुण्यप्रसाद रेग्मीलाई उपकुलपति नियुक्त गरिएको हो।
पोखरा विश्वविद्यालयमा उपकुलपति बनेका अर्याल नेपाली कांग्रेस निकट हुन्। संस्कृत विश्वविद्यालयका उपकुलपति लामिछाने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली निकट हुन्।
कृषि तथा वन विज्ञानका उपकुलपति बनेका रेग्मी पनि नेकपा निकट हुन्। उनी नेकपा अध्यक्ष पुष्पकमल दाहाल निकट छन्। उनी यसअघि कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष नियुक्त भएका थिए।
यी तीन विश्वविद्यालयमा एक वर्षदेखि उपकुलपति रिक्त थियो। उपकुलपतिहरू नियुक्तिमा पनि सत्ता र प्रतिपक्षबीच भागबन्डा मिलेपछि नियुक्ति भएको हो।