ब्राजिलका लागि ग्रीसका राजदूत काइरियाकोस अमिरिदिसको हत्याका पछाडि उनकै ब्राजिलियाली श्रीमती फ्राँस्वाँज डे सोउजा अलिभिएराको प्रेमी सर्जिओ गोमेज मोरेइराको संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् । अभियुक्त सर्जिओ गोमेज मोरेइराले आफू राजदूतको हत्यामा संलग्न रहेको भनी अपराध स्वीकार गरेका छन् ।
अन्ठाउन्न वर्षीय ग्रीक राजदूत काइरियाकोस अमिरिदिसको सोमबार ब्राजिलियाली प्रहरी अधिकृत सर्जिओ गोमेज मोरेइराले हत्या गरेको अनुसन्धानपछि पुष्टि भएको रियोका प्रहरी प्रमुख इमारिस्टो पोन्टिसले प्रेस सम्मेलन गरी जानकारी दिए ।
अमेरिदिसको मृत शरीर जलेको अवस्थामा बिहीबार उनकै भाडामा रहेको एक कारभित्र भेटिएको थियो । राजदूत अमिरिदिसकी पत्नी फ्राँस्वाँज डे सोउजा अलिभिएराले आफ्ना श्रीमान् बेपत्ता भएको खबर एक दिनपछि मात्र प्रहरीलाई गराएकी थिइन् ।
४० वर्षीय राजदूत अमिरिदिसकी पत्नी अलिभिएरा र उनका २९ वर्षीय ब्राजिलियन प्रहरी साथी मोरेइरा दुवैजनाले आफूहरु प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार प्रहरीसमक्ष गरिसकेका छन् ।
रियो प्रहरीका अनुसार आफू उक्त हत्याकाण्डमा सहभागी नभएको बयान प्रहरी सम्क्ष दिएकी राजदुत पत्नी अलिभिएराले अपराध भएकोबारे आफुले थाहा पाएकोे बताइन ।
यसै वर्ष ब्राजिलको राजदूतमा नियुक्त भएका अमिरिदिस आफ्नी पत्नीसहित पारिवारिक बिदामा उत्तरी रियो दि जेनेरियोमा गत डिसेम्बर २१ गतेदेखि गएकोमा जनवरी ७ मा हवाई मार्ग हुँदै ब्राजिलको राजधानी ब्राजिलिया फर्किने कार्यक्रम रहेको थियो ।
राजदूतकी पत्नी अलिभिएराका अनुसार आफ्ना श्रीमान्ले रियोस्थित उनीहरु बसिरहेको कोठाबाट एउटा भाडाको कार लिएर बाहिर निस्केको तर पछि नफर्केपछि आफूले राजदूत हराएको सम्बन्धमा ब्राजिलियाली अधिकारीलाई जानकारी गराएकी थिइन् । यद्यपि अलिभियराको भनाइमा शङ्का गर्दै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच ग्रीसले घटनाबारे अनुसन्धान अघि बढाउन ग्रीक प्रहरीसहितको एक अनुसन्धान टोली ब्राजिलतर्फ पठाएको छ । राजदूत अमिरिदिस यसअघि सन् २००१ देखि सन् २००४ सम्म महावाणिज्य दूत भएर जेनेरियो गएका बेला अलिभिएरासँग भेट भएको र पछि बिहे भएको थियो । राजदूत दम्पतीका १० वर्षीय एउटी छोरी हुनुहुन्छ । एएफपी