रौतहटस्थित इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी हिरासतमा दिइएको चरम यातनाकाकारण गरुडा नगरपालिका–८ जिगंडवाका १९ वर्षीय विजय रामको मृत्यु भएको पुष्टि भएपछी जिल्ला प्रहरी कार्यालाया रौतहटका तात्कालीन प्रमुख एसपी रविराज खड्का लगायत चार जना प्रहरी अधिकृतलाई कारबाहीको सिफारिश भएको छ ।
बिजय रामको मृत्यु सम्बन्धमा गृह मन्त्रालयद्वारा इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप-सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा गठित छानविन समिति ले उनीहरुलाई दोषी ठहर गर्दै कारबाहीको सिफारिश गरेको हो। सो समितिले इलाका प्रहरी कार्यालय गौदाका तात्कालिन प्रमुख डिएसपी ज्ञानकुमार महतो र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र यादवलाई समेत विभागीय कारबाही गर्न सिफारिस गरेको छ । समितिको सिफारिसअनुसार विभागीय कारबाही गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
सरकारी छानविन समितिले रौतहटको इलाका प्रहरी कार्यालय, गरुडाको हिरासतमा मृत्यु भएका विजय रामलाई यातना दिइएको निष्कर्ष निकालेको छ ।
गरुडा नगरपालिका–८ जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा प्रहरीले गत साउन ३२ गते १९ वर्षीय विजय रामलाई पक्राउ गरेको थियो । हिरासतमा रहेकै बेला स्वास्थ्य विग्रिएको भन्दै प्रहरीले वीरगञ्ज लगेको थियो र नेशनल मेडिकल कलेजमा उपचारका क्रममा उनको त्यही मृत्यु भएको थियो । तर, विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीय र उनका आफन्तले बिजय रामको प्रहरी हिरासतमा दिइएको चरम यातनाकाकारण मृत्यु भएको भन्दै बोरोध प्रदर्शनमा उत्रिएका थिए भने दोषीमाथि कारबाहीको माग राखेर उजुरी समेत दिएका थिए।
मृत्युअघि अस्पतालमा विजयले आफूलाई प्रहरीले हत्या अभियोग स्वीकार गर्न यातना दिएको बयान दिएको भिडियो समेत सार्वजनिक भएपछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप-सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।
प्रतिवेदनमा हिरासतमा विजयलाई यातना दिएको निष्कर्ष निकाल्दै तात्कालिन जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले जिल्लाको नेतृत्व तहमा रहेका अधिकारीले पनि पदीय जिम्मेवारी कुशलतापूर्वक पूरा नगरेको भन्दै विभागीय कारबाही सिफारिस गरिएको छ ।
हिरासतमा गएर यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको पनि उनले बताए । तीनै जनालाई प्रदेश नं. २ प्रहरी कार्यालयले १६ भदौमै निलम्बन गरिसकेको छ ।
मृतकका बुबा पनिलाल रामले पनि छानविन समितिकै सिफारिस जस्तै नयाँ जाहेरी पनि प्रहरीलाई दिएका छन् । उनले २५ भदौमा तत्कालीन एसपी खड्का, डीएसपी महतो, सई यादवसहित ६ जनालाई प्रतिवादी बनाएर यातना तथा ज्यानसम्बन्धी कसूरमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत किटानी जाहेरी दर्ता गराएका थिए ।