राष्ट्रिय समाचार समिति [रासस]का बरिष्ठ समाचारदाता राजाराम कार्कीमाथि आक्रमण भएको छ। आक्रमणपछि टाउकोमा गम्भिर चोट लागेकोले उनको अहिले धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य समेत रहेका कार्कीमाथि भक्तपुर निवासी उद्धव कार्कीले आक्रमण गरेको जनाइएको छ ।
प्राप्त समाचार अनुसार, भाद्र २१ गते विहान ९.३० बजेको समयमा घरायसी सामान खरिद गर्न बनेपा नगरपालिका वडा नम्वर ८ स्थित बसपार्क नजिकै रहेको चामुण्डा हार्डवेयरमा पुगेको अवस्थामा भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नम्वर १० घर भई बनेपा नगरपालिका वडा नम्वर १४ साँगा स्थित नेपाल प्रहरी स्कुलमा नेपाली विषय शिक्षकका रुपमा कार्यरत उद्धव कार्कीले एक्कासी पुरानो हिसाव किताव तँ सँग गर्नु छ भन्दै भटाभट हार्डवेयरमा भएका सामाग्रीहरुले टाउको, शरिरका विभिन्न भागहरुमा प्रहार गरी रग्ताम्मे भएर भुँईमा ढलिसक्दा समेत आक्रमण गरिरहेको र पसलमा भेला भएका ब्यक्तिहरुले कुटपिटबाट रोक्न लाग्दा समेत एकोहोरो कुटी ज्यान मार्ने प्रयास गरेको बताइएको छ।
आक्रमणकारी सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी कार्कीको पहिचान समेत भइसकेको हुँदा उनलाई तत्काल पक्राउ गर्न काभ्रेका पत्रकार हरुले आग्रह गरेका छन् । कार्की प्रेस युनियनका केन्द्रीय समेत हुन् ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाले उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै आक्रमणकारीलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न माग गरेको छ । महासंघले कार्कीको तत्काल उपचार र क्षतिपूर्ति समेत आक्रमण गर्ने व्यक्तिबाट भारउन माग गरेको छ । उता, प्रेस युनियनले घटनाको भत्र्सना गरेको छ ।