बागलुङको ढोरपाटनमा पहिरोकाकारण १७ जना बेपत्ता : स्कुल तथा पुल र हाइड्रो पावर समेत बगायो

बागलुङको ढोरपाटनमा पहिरोकाकारण १७ जना बेपत्ता : स्कुल तथा पुल र हाइड्रो पावर समेत बगायो


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १८ भाद्र २०७७
  • 4.6K
    Shares

गएराती परेको अविरल वर्षाकाकारण आएको पहिरोले पुरिएर बागलुङको ढोरपाटन नगरपालिकामा १७ जना बेपत्ता भएका छन भने कम्तीमा २५ घर बगाएको छ।

ढोरपाटन उपत्यका प्रवेश गर्ने देउराली भुजीखोलाको मुहान देउराली पहाडबाट ठुलो पहिरो खसेर ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा आएको पहिरोका कारण लाकुरीबोटमा तीन जना, सुकुरदुङमा एक जना, दुनेपधेरामा तीन जना, घट्टबोटमा सात जना, भुसुन्डेमा तीन जना समेत १७ जना सम्पर्क बिहिन भएको स्थानीय जीवन पुनले जानकारी दिए । पहिरोमा परेर थप मानिसहरु हराएको हुनसक्ने अनुमान गरिएको छ।

यसैबीच हराएका मध्ये एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गल्कोटका एकजना व्यक्ति समेत बेपत्ता भएको स्थानीयले बताएका छन् । घटनाको जानकारी पाउनासाथ घटनास्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिँह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।

यस्तै, बाढीले लाकुरीबोटका ११ घर, दुनेपधेरामा पांच घर, घट्टबोटमा आठ घर, भुसुन्ड्मा एक घर बगाएको छ भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिए । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

भूजिखोलामा पहिरोले थुनेर खोला बढेर आएको खबर भएसँगै ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भिमगीठे बजार र खाल, खार खर्वाङसम्म नदी तटमा रहेका वस्तीमा उच्च सतर्कता अपनाउन रातभर आग्रह गरिएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया