नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य एबम तात्कालीन मेची-कोशी ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ र तात्कालीन पार्टी ब्युरो कार्यालय सचिब सुमंन सिंह पौडेल सप्तरीबाट रिहा भए लगत्तै बेपत्ता भएका छन्।
उनीहरुलाई आइतबार मात्र सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो। सर्बोच्चले दिएको आदेश अनुसार, सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएशनको रोहवरमा उनीहरुलाई रिहा गरे पनि अदालत भवनको पछाडिको ढोका हुँदै साँझ ६ बजेतिरबाहिरिएको सप्तरी बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।
बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सर्वोच्च अदालतले आज अपराह्न ५ बजे रिहा गर्ने आदेश गरेबमोजिम उनीहरुलाई आज साँझ प्रहरी नियन्त्रणबाट मुक्त गरिएको बताइएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भुजेल र पौडेलमाथि सप्तरीको भारदहमा प्रहरीसँग अभद्र व्यवहार गरेको आरोप लगाउँदै यही भदौ ४ गते मुद्दा चलाएको थियो। जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै उनीहरु पक्राउ थिए। सरकारले चन्द नेतृत्वको गतिविधिमाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।