तिमी मालिक बन्दै जाऊ
चारहजार वर्षयताका शीतयुद्धहरू बिर्सेर
लाखौंझैं,हामी नोकर हुँदैजाने छौं र फूल चढाउँछौं
गोडा मिचेकै हौं,मिच्छौं फेरि
केवल एकसय साठी शान्तिवर्ष सम्झेर
दक्षिणा चढाएकै हो,चढाउँछौं फेरि
युद्धका इतिहासहरू बिर्सेर
लुगा,भाँडा धोएकै हौं,धुँला फेरि,धुनेछौं
जिन्दगी सङ्घर्ष भन्ने बिर्सनु छैन
अजम्बरी छैनन् ,छैनौं बुझेर
लालाबालाका दाना हरेर चढायौं ,फेरि चढाउँला
चिचीचाचा,नानापापा चढायौं,चढाउँछौं
हजारौंले चढाए झैं
बा चढायौं,आमा,दिदीबहिनी,भाइछोरा चढायौं
मानिस सम्झेर जीवन चढायौं र अरु चढाउँला ।
खै वरिष्टहरूका दिशाबोध,नीतियोजना बर्गसोच ?
खै वर्गसत्ता खोस्ने सेना,मोर्चा ?
खै विचारनिर्देशित कर्ता क्षमता ?
खै राष्ट्रिय आकाङ्क्षा र परिस्थितिबोध ?
खै त्यागबलिदान,लेबी,चन्दा,सहयोग मूल्य ?
खै आर्थिक प्राविधिक,सम्बन्ध र सङ्गठन ?
खै जनप्रिय मोक्ष अभियानकर्मी अभियान ?
अहो ,बैठक अकर्मण्य अलमल ढिलासुस्ती !
अहो ,केन्द्र इतिहासकै अक्षम निष्क्रियता !
बाआमा,परिवार भनिएन कहिल्यै
नयाँ सामुहिकता खोज्दा नाता आफन्त भनिएन
जाति,बर्ग धर्म एकै देखेर ,एउटै पार्ने आशामा
आफ्ना पाखारेखा सम्झिएन पौनेतीन बीस समय
तिम्रा लोभका भाँडो सकेजति भरिदिएकै हो
तिमीले कीर्तिताज पहिरिंदा ताली मारेकै हो
सफल पार्न तिमीलाई
आदेशपालक कुरुप वीर भएकै हो,
पशु गोटी दास,हावा भएकै हो
बीऊ,मल,प्रविधि जस तिमी हुन्थ्यौ
ऋण,दुखदासता हाम्रो हुन्थ्यो
हामी भोकानाङ्गा रहँदा मोटा हुन्थ्यौ तिमी
चौतारीदासतरह जी हजुरी गर्थ्यौं हामी
महादेव नमानेरै पनि अरूझैं वरपरि घुम्थ्यौं हामी
अहो,अभिजात्य,नोकरशाही पुरातन !
हली ज्यामी ठान वा सजिलै नतात्ने फलाम मान
फलाम भाँच्न,टुक्रयाउन गाह्रै छ बुझ बरू
उत्तरस्वच्छन्दता रागमा पग्लन गाह्रो छ बुझ बरू
कुँडाकर्कट झैं सजिलै तताउन गाह्रै हुन्छ फलाम
बरू बुझ, कुँडाकर्कट तातेर फलामझैं राता हुँदैनन्
रन्किएर दन्किएर आगा भएर बल्दैनन् ती
युरेनियम,हीरा,सालिग्राम,खनिज,सुनव्यापारी ट्रम्प,मोदीमीत र पुच्छर हौला थिएन र त
इण्डोप्यासिफिक र एमसिसि हौला थिएन र त ढाड,काँध, टाउका टेकाउँथ्यौं बोक्थ्यौं,
घुमाउँथ्यौं र मान्छे बनाउँथ्यौं चिनाउँथ्यौं
तिमी लाभ उठाउँथ्यौ र जीवन बनाउँथ्यौ
दुखकारण,अन्यौलता,दिशाहीनता कारण अर्कोछैन
अहो,अक्षम भक्षक धुरी लहडवाज !
तिम्रो कुरा सुन्ने ठूला ठाऊँ तिमीजस्तैका धुरीकेन्द्र !
केवल मुर्धा मुर्तिदेवता खुराफात र मुर्तिशासक !
न ज्ञात,वर्तमान र भविष्यबोध दक्षता !
न नोकरतन्त्रहीन सर्वग्राह्यैता र लालछाप !
आफै बन्छ ठान्ने ईश्वर चमत्कारप्रेम,पूर्वाग्रह !
प्रतिस्पर्धाबिरोधी तानाशाह केन्द्र सत्ता,
सत्ता झैं कहिले हुँदैन र भएन त्यो ?
कामकाजी सङ्गठन भत्काउ,बिगार,अरू बिगार
बिघटन गर लखेट,पटकपटक फेरि लखेट
मालिककेन्द्रका मतमतो नमिलेका होइन त्यसमा।
अन्धभक्त नदेखे राक्षस भन वा अरु,तिम्रो कुरा
अराजक,अधम भन वा अरु,तिम्रा कुरा
तिम्रा नयाँयुग,सत्ताप्रेम कसले बुझेन र हिजैदेखि ?
तिम्रा विभेदरहित आश्वासन कसले बुझेन ?
फलाम चिसाउन सहज हुँदैन
हाम्रा सहनशील मौनताका फाइदा उठाएर तिमीले भत्काएको फलामे घर
टुक्रने चिसिने कल्पना गर्दै नगर
तिमीले पानी खन्याउदैका बखत
आँखै तिर्मिराउने धुँवा राप तिमी देख्यौ देखेनौ ?
ऐयाआथ्युमै पर्यौ परेनौ ?
लैना मात्रै खोज्ने तिम्रा गोमन रुप
धेरैलाई राम्रो थाहा छ
पीडितआक्रोस तिम्रै कारण अरु दन्कन्छ
तिमी नै तिर्मिराउने गरी आक्रोस उम्लन्छ
डाम्न,पोल्न दोहोरोपीडा अरू रन्कन्छ
शकुनी धुर्तमति र तिम्रा मति एकै छ
देशमा देश नचाहिने ,जनतामा जनता नचाहिने
तिम्रो बाह्रनम्बरी,तिम्रो घुमाउरो इण्डोप्यासिफिक
तिम्रा नवउदारता,तिम्रा दास साम्राज्य
तिम्रा नाटकीय चुनावी स्वाधीनता र स्वाँङ !
अभियानकर्ताकै रगत पसिनाका तर मार्दै जाऊ
थारा छोडेर लैनै खोज नखोज तिम्रा विवेक !
श्रीतीन मालिकहरु जस्ता नोकर हुँदैनन्
नोकरहरुजस्ता हुन्नन् श्रीतीन मालिकहरु
किनभने, उचनीच विभेद भनेका विभेद हुन्
बालुवामा पानी हाले पनि बालुवा सुख्खै छ
मान,आगाहरु तिम्रा इच्छा कठपुतली हुँदैहुँदैनन् तर मान ,तिमीलाई फूल चढाउँथ्यौं र चढाइरहेछौं
त्यो आगोप्रेमी फूल,आगोले झैं डाम्नसक्छ बरू
किनभने पानी सुकेर बालुवा आफै सुख्खा छ । (२०७७-०५-११,पोखरा )