मोरङ कारागारमा एक कैदीको शंकाश्पद मृत्यु : कुटपिट गरी हत्या गरिएको आफन्तको आरोप

मोरङ कारागारमा एक कैदीको शंकाश्पद मृत्यु : कुटपिट गरी हत्या गरिएको आफन्तको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०७७
  • 3.2K
    Shares

जिल्ला कारागार मोरङ

जिल्ला कारागार मोरङमा लागूऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको बुधबार शंकास्पद मृत्यु भएको छ ।  विराटनगर- ४ का २६ वर्षीय निराजन यादवको मोरङ कारागारमा शंकास्पद मृत्यु भएको हो ।

तीन दिन अघि भेट्दा सामान्य अवस्थामा रहेका यादबको शरीरमा निलडाम रहेकाले कुटपिटपछि हत्या भएको आरोप उनका आफन्तले लगाएका छन् । ‘टाउकोमा र खुट्टामा चोट देखिएको छ,’ मृतकका दाजु बालमिथुन यादवले भने ‘ कुटपटि गरी यातनाका कारण मृत्यु भएको हो ।’

आफन्तले कुटपिटपछि हत्या गरेको आरोप दाबी गर्दै विरोध गरेपछि प्रहरीले शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाएको छ । कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिभ आएपछि पोष्टमार्टम गरी बिहीबार शव आफन्तको जिम्मा लगाएको हो ।

मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले पोष्टमार्टम रिपोर्टपछि सबै विषय खुल्ने बताए । रिपोर्ट आएपछि कुटपिट गरेको देखिए थप अनुसन्धान गरी संलग्नलाई कारबाही गर्ने उनले बताए ।

यादव लागूऔषध मुद्दामा एक वर्ष ९ महिना १९ दिन कैद फैसला भएका व्यक्ति हुन् । २०७६ फागुन ११ गते यता कारागार चलान भएका थिए ।

जिल्ला कारगार मोरङका जेलर सुवासकुमार लामिछानेका अनुसार मृतकमा छारे रोगको समस्या थियो । कारागारमा कुटपिट भए नभएको पोष्टमार्टम पछि खुल्ने उनले बताए । कुटपिट पछि हत्या गरेको भए छुट्टै निकाय बनाएर छानबिन हुने उनको भनाइ छ ।

 

प्रतिक्रिया