इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका १९ वर्षीय युवकको मृत्यु, प्रहरीले कुटेर मारेको बाबुको आरोप

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका १९ वर्षीय युवकको मृत्यु, प्रहरीले कुटेर मारेको बाबुको आरोप


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ११ भाद्र २०७७
  • 3.7K
    Shares

मृतक विजय महरा

हत्या गरेको आरोपमा रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका १९ वर्षीय एक युवकको मृत्यु भएको छ।  गरुडा नगरपालिका–८ जिगडियाका १९ वर्षीय विजय महराको उपचारका क्रममा बिहीबार बिहान वीरगन्जमा मृत्यु भएको हो ।

साउन ३१ गते राति गाउँकै साथी १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या गरेको आरोपमा भोलिपल्ट पक्राउ परेका विजय महरालाई प्रहरीले कुटपिट गरी हत्या गरेको उनका परिबारजनले आरोप लगाएका छन्।  विजयका बाबु पनिलाल महराले आफ्नो छोरालाई पक्राउ गरेदेखि भेट गर्न नदिएको गुनासो गर्दै छोरा अस्पताल भर्ना गरेको खबर पाएर जाँदा पनि भेट्न नदिएको टिप्पणी गरे।  उनले आफ्नो छोरामा कुनै रोग नभएको जिकिर गर्दै प्रहरीले छोरालाई कुटेरै मारेको आरोप लगाए।

विजयको पिसाब र दिसामा समस्या देखिएपछि गरुडास्थित अनमिका अस्पताल लगिएको प्रहरीले जनाएको छ । तर, त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले बाहिर लैजान सुझाव दिएका थिए ।

अनमिकाका चिकित्सक आरबीप्रसादका अनुसार विजयको दिसा–पिसाबबाट रगत बगेको पाइएको थियो । ‘हेमोग्लोबिनको मात्रा पनि कम हुँदै गएको थियो । पिसाबमा रगत जमेको पाइयो,’ उनले भने, ‘विजयलाई कतै केही समस्या छ भनेर सोधेका थियौं । उनले पिसाब गर्दा रगत बग्यो भने । त्यसै बेला उनलाई बाहिर लैजान प्रहरीलाई सुझाव दियौं ।’

विजयको पिसाबमा समस्या आएपछि भदौ ४ गते उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज पठाइएकोमा बिहीबार बिहान मृत्यु भएको गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए  । उनले विजयलाई कुटपिट नगरिएको दाबी गरे । उनले भने, ‘पहिलेदेखि नै किड्नीको समस्या रहेछ । हिरासतमा हुँदा पिसाब फेर्न समस्या भएपछि उनलाई वीरगन्ज पठाइएको हो। ’

तीन दिनअघि निरञ्जन राम हत्या संघर्ष समितिले पत्रकार सम्मेलन गरी विजयलाई प्रहरीले हिरासतमा कुटपिट गरी घाइते बनाएको जनाएको थियो । हत्या आरोपमा प्रहरीले विजयसहित सात जनालाई कर्तव्य ज्यान मुद्दा लगाएको छ ।

नेपाल उत्पीडित जातीय संघ रौतहटका जिल्ला अध्यक्ष नाथुराम परियारले प्रहरीको ज्यादतीले सीमा नाघेको बताए । ‘हत्यापछि जाहेरी लिएर जाँदा महिला र दलितमाथि गरुडा प्रहरीले दुर्व्यवहारसमेत गर्‍यो,’ उनले भने, ‘हिरासतमा मरणासन्न हुने गरी विजयलाई कुटेर मार्ने प्रहरीमाथि कारबाही हुनुपर्छ ।’ दलित फाउन्डेसनका अभियन्ता मनोज रामले पनि विजयलाई अपराध कबुल गराउने निहुँमा हिरासतमा तीन सुरक्षाकर्मीले बुट र लाठीले हानेर घाइते बनाएको आरोप लगाए ।

प्रतिक्रिया