जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई पनि सरकारले पैसासँग दाँजेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले आइतबारको गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ ।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख खधिकारीले बैठक अवरुद्ध गर्नुको कारणबारे बोल्न प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीलाई समय दिएका थिए ।
बैठक अवरुद्ध गर्नुको कारण खुलाउँदै नेता नेपालीले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्नु पर्ने दायित्व बोध गराउँदै दर्ता गरेको संकल्प प्रस्ताव प्रमुख प्रतिपक्षले पेश गरेकै कारण अस्वीकार गरिएको आरोप लगाए । समसामयिक रुपमा ल्याएको प्रस्ताव भनेर स्वागत गर्नु पर्नेमा प्रतिपक्षले ल्याएकै कारण अस्वीकार गरिएको उनको भनाइ छ । उनले बोल्ने क्रममा पटक पटक एक घर एक पिसिआरको अडान लिएका थिए । यसैगरि, सरकारले बनाएको क्वारेन्टाइन डब्लुएचओको मापदण्ड विपरित रहेको भन्दै मापदण्डअनुसारका क्वारेन्टाइन बनाउनुपर्ने उनले माग राखेका थिए ।
सभामुख अधिकारीले सहमतिकै आधारमा अघि बढेको र प्रयास हुने बताउँदै बैठक अवरोध नगर्न पटक पटक आग्रह गरेपनि काँग्रेस सांसदले स्वीकार गरेनन् । त्यसपछि स्थगित भएको बैठक पुनः बसेपनि काँग्रेसले सोही अडान दोहोर्याउँदै अवरोध जारी राख्यो । बैठक अवरुद्ध भएपछि सभामुखले सभाको अर्को बैठक भदौ १ गते दिनको १ बजेका लागि बोलाएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभाको बैठकमा गएको असार २३ गते संकल्प प्रस्ताव दर्ता गराएको थियो । महामारीको रुप लिइरहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि दबाब दिन भन्दै काँग्रेसले प्रस्ताव दर्ता गराएको थियो । यद्यपि, काँग्रेसले दर्ता गरेको संकल्प प्रस्ताव बहुमतले अस्वीकृत भएको थियों।
तर प्रदेश सभा बैठकमा आफूहरुले दर्ता गराएको प्रस्ताव अस्वीकृत भए पनि संकल्प प्रस्तावमा राखिएका केही माग भने पूरा हुनुपर्ने प्रतिपक्षी दलका नेताहरुले माग राखेका छन् । यही विषयलाई लिएर काँग्रेसले आइतबारको प्रदेशसभा बैठक लगातार दुई पटक अवरुद्ध गरेको हो ।