राम रानाभाट कास्की जिल्लाको राजनीतिक क्षेत्र, प्रहरी प्रशासनमा अपरिचित नाम हैन। उनी नेपाली कांग्रेसको भात्री संगठन नेपाल तरुण दलको जिल्ला समिति सदस्य थिए। लेखनाथमा रहेको बेगनास युवा क्लबको अध्यक्षको रुपमा सामाजिक पहिचान बनाएका रानाभाट पोखरामा आएका ठुल्ठुला प्रहरीका हाकिम, नेताहरुलाई लिएर रुपाकोट रिसोर्ट पुर्याउथे। त्यसो त कहिलेकाहीं डाङ्गडुंग गर्न परे पनि उनी युवा परिचालित गर्न पछि पनि पर्दैनथे।
उनको चुरीफुरी देखेर धेरै मानिस अचम्मित थिए। तर उनै सामाजिक व्यक्तित्व, राजनीतिक कार्यकर्ता राम रानाभाट रौतहटमा लागु औषधसहित पक्राउ परेका छन् ।
रानाभाटसहित अन्य दुई युवालाई रौतहटस्थित चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयको टोलीले साउन २४ गते लागु औषधसहित पक्राउ गरेर आबश्यक अनुसन्धान शुरु गरेको छ।
प्रहरीले उनीहरु चढेको इको स्पोर्टस गाडीमा जाँच गर्दा काेरेक्स नामक लागु औषध फेला परेको रौतहटका एसपी रवि खड्काले जानकारी दिए ।
रानाभाटसंगै पक्राउ परेका तनहुँ दुलेगौंडाका २८ वर्षीय महम्मद मुर्तुजा र बाराका २२ वर्षीय लालुदिन मियाँ खानलाई प्रहरीले लागु औषध सेवन तथा बिक्री वितरण सम्बन्धि मुद्दा दर्ता गरेको छ र उनीहरुलाई अनुसन्धानका लागि एक हप्ताको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।