एउटा सिरानीको खोलको मूल्य कति पर्ला ? सामान्य खालको १०० रुपैयाँमै पाइने यस्ता कभर राम्रै खरिद गर्दा पनि ५०० भन्दा धेरै नपर्ला भन्ने धेरैले अनुमान गर्छन् । तर, सिराहा नगरपालिकाले एउटा सिरानीको खोललाई दुईहजार आठ सय ७७ रुपैयाँ तिरेर किनेको पाइएको छ ।
सिराहा नगरपालिकाले जिल्ला स्तरीय कोभिड–१९ नियन्त्रण समितिलाई बुझाएको खर्च विवरणमा सिरानीको खोलमात्र तीन लाख १९ हजार दुई सय ७५ रुपैयाँको किनेको देखिएको छ । यो मूल्यमा एक सय ११ वटा खोल खरीद भएको खर्च विवरण नगरपालिकाले सार्वजनिक गरेको छ । यसरी हेर्दा एउटा सिरानीको कोभरको मूल्य दुईहजार आठ सय ७७ रुपैयाँ पर्न जान्छ ।
सिरानी र त्यसको खोलमात्र होइन, अन्य सामानको मूल्य पनि अस्वाभाविक रुपमा बढी देखाइएको छ । बजारमा १० रुपैयाँमा पाइने मास्कलाई नगरपालिकाले २२ रुपैयाँ ८७ पैसामा खरिद गरेको देखाएको छ । ८७ हजार पांच सय ७५ थान मास्क खरिद गर्दा २० लाख दुई हजार नौ सय ९७ रुपैयाँ खर्च भएको नगरपालिकाले देखाएको छ ।
नगरपालिकाले पांच सय ५८ थान तन्ना अर्थात् बेडसिट खरिदमा ४५ लाख तीन हजार सात सय ७५ रुपैयाँ खर्च भएको देखाएको छ । यसरी हेर्दा एउटा तन्नाको मूल्य आठ हजार ७१ रुपैयाँ तिरिएको छ ।
यो नगरपालिकाले कोभिड १९ नियन्त्रणको नाममा पांच करोड ९० लाख ८६ हजार चार सय ३० रुपैयाँ खर्च भएको जनाएको छ ।
यसैबीच, सिराहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले खर्चको विवरण तयार गर्दा त्यसमा प्रिन्ट मिस्टेक भएको प्रतिक्रिया दिएका छन् । बढी खर्च देखाइएको सन्दर्भमा मेयर यादवले रुपैयाँ र पैसालाई नछुट्टयाएर सीधै लेखेका कारण रकम बढी देखिएको प्रतिक्रिया दिए । ‘हामी त्यो खर्च विवरणलाई चाँडै सच्याउँछौं’ मेयर यादवले भने, ‘हामीले बढी खर्च गरेकै छैनौं । यथार्थ खर्चलाई मात्रै विवरणमा समावेश गरेका छौं । तर, त्यो प्रिन्ट मिस्टेक भएकाले यसलाई सच्याएर अर्काे विवरण तयार पार्छौं ।’ साभार अनलाइनखबर