ज्यालादारीमा काम गर्दै आएका पोखराको पृथ्वीनारायण क्याम्पसका आंशिक शिक्षकहरुले मासिक तलबको माग राखेर क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुकासाथै तालाबन्दी गरेका छन्।
पोखराको पृथ्वीनारायण क्याम्पसस्थित आंशिक शिक्षक संघको आव्हानमा आन्दोलनमा उत्रिएका आंशिक शिक्षकहरुले मासिक तलबको माग राखेर पृथ्वीनारायण क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुकासाथै तालाबन्दी गरेका हुन्। तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्षको दुई वटा झ्याल फुटेको छ भने केही कुर्सीमा क्षति पुगेको छ ।
गत फागुनमा आंशिक शिक्षकहरुसंग भएको समझदारी वमोजिम तलबको ब्यबस्था गर्न माग गर्दै क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाउन र क्याम्पस प्रमुख कार्यकक्ष तालाबन्दी गर्न पुगेका आंशिक शिक्षकहरुलाई क्याम्पस प्रमुख सरोज कोइरालाले भेट गर्न नमानेको भन्दै आक्रोशित आंशिक शिक्षकहरुले तोडफोड गरेको बताइएको छ।

करिब १४ वर्षदेख आंशिक पदमा कार्यरत शिक्षकहरुले करारको माग गरिरहेका छन् । हालसम्म कुनैपनि क्याम्पस प्रमुखले समस्या समाधान गर्न चासो नदिँदा उक्त घटना घट्न पुगेको संघका अध्यक्ष सुनिल गौतमले जानकारी दिए । उनले भने, ‘हामी १४ वर्षदेखि पीडित छौं, हाम्रा माग पुरा नभए थप सशक्त कार्यक्रम ल्याउन बाध्य हुनेछौं ।
अध्यक्ष गौतमका अनुसार क्याम्पसको ७० प्रतिशत कक्षाभार आंशिक शिक्षकहरुले लिने गरेका छन् । पढाएको दिनको मात्रै न्यून ज्यालामा काम गरिरहेका शिक्षकहरु लकडाउनपछि भोकै परेको उनको भनाई छ । आंशिक शिक्षकहरुलाई जे जति दिने भए पनि निश्चित रकम मासिक तलबका रुपमा दिइनुपर्नेआन्दोलित आंशिक शिक्षकहरुको माग छ।

यसबारे क्याम्पस प्रमुख प्राडा सरोज कोइरालाले समस्या समाधान गर्न केन्द्रसँग निरन्तर संवादमा रहेको र सोमबारसम्म समस्या किनारा लाग्ने भन्दै आशावादी हुन आग्रह गरेका छन् । शिक्षक र प्रमुख कोइरालासँग भएको वार्तामा केन्द्रसँग प्रत्यक्ष संवाद गरी समस्या समाधानार्थ आफु उन्मुख भएको उनले जानकारी दिए । क्याम्पसमा हाल दुई सय २० को संख्यामा आंशिक शिक्षक रहेका छन् । फोटो आंशिक शिक्षक बिष्णु गौतम