बाराका पत्रकार उमेश दुबे वीरगंजबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान शाखाका प्रहरी टोलीले माई टेलिभिजन वीरगंजको कार्यालय अगाडिबाट बुधबार बेलुकी करिब ५ः०० बजे गिराफ्तार गरी लगेको स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।
पत्रकार दुबेलाई प्रहरीमाथि दुरव्यवहारको आरोप लगाएर अभद्र ब्यबहारको मुद्दा चलाइएको प्राप्त समाचारमा जनाइएको छ।
पत्रकार दुबे समाचार संकलन गर्न बुधबार विहान पावरहाउस चोक पुगेकामा प्रहरीले उनको मोटरसाइकल रोकेर “किन निषेधाज्ञा उलंघन गरेको ?” भन्दै प्रश्न गरेका थिए। त्यही बिषयमा प्रहरी र पत्रकार दुबेबिच बिबाद भएको बताइएको छ। तर उनलाई बेलुकी करिब ५ बजे माई टेलिभिजनको कार्यालयमा पुगेको बेला प्रहरीको टोलीले गेट अगाडिबाट प्रक्राउ गरेको बताइएको छ।
प्राप्त समाचार अनुसार, पत्रकार दुबे र जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गङ्गा पन्तका बीच समाचारका बिषयमा बिब्बाद भएको थियो। उनले केही दिन अघि पर्सा प्रहरीको अपराध अनुसन्धान शाखाका प्रहरी निरिक्षक रवि भुषण यादव मार्फत एसपी पन्तले तस्करहरुसंग महिनावारी उठाएर लिने गरेको समाचार प्रकाशन गरेका थिए। सोही समाचार प्रकाशन भएपछी चार जना प्रहरीलाई प्रदेश प्रहरी कार्यालयले कारबाही गरेको थियो।
त्यही बिषयलाई उल्लेख गर्दै पत्रकार दुबेले आफ्नो फेसबुक स्टाटसमा, “जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४ जनालाई प्रदेश प्रहरी प्रमुखले तानेपछी, जिल्ला प्रहरी प्रमुखलाइ टाउको दुखाइ भएको छ । जय हो इमान्दारिताको खोल ओढेका प्रहरी प्रमुख ।” लेखेका छन्।
पर्सा प्रहरीप्रति आक्रामक देखिएका पत्रकार दुबेले पर्साकी प्रहरी प्रमुख पन्तलाई लक्ष्यित गरेर आफ्नो फेसबुक स्टाटसमा, “आफुलाइ इमान्दार प्रहरी प्रमुख नठान्नुस । तपाइको चमचागिरी गर्ने होलान तर तपाइको चर्तीकला कसै सङ्ग लुकेको छैन । बिचार गर्नुस” लेखेका छन्।
पत्रकार उमेश दुबे जनगुनासो दैनिक, आर्थीक राष्ट्रिय दैनिक, माई टिभि, टिभि टुडे र न्यु सन्देश दैनिकमा आवद्ध रहेका छन् ।