कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएपछि संक्रमण थप फैलन नदिन जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेको छ। पर्साको जिल्ला संकट व्यवस्थापन केन्द्रले अनिश्चितकालिन निषेधाज्ञा जारी गर्न गरेको सिफारिश बमोजिम जिल्ला प्रशासन कार्यालय पर्साले निषेधाज्ञा जारी गरेको हो ।
पर्साका प्रमूख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले जिल्लामा कोरोना संक्रमण फैलिन नदिन र यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निशेधाज्ञा जारी गरिएको बताए । उनले निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरू घरबाहिर ननिस्कन आग्रह गरे ।
त्यस्तै, शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, सञ्चार, भन्सार, आइसीपी, ड्राइपोर्ट, बैंक, क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधि जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा बन्द रहने बताइएको छ।
यसैबीच कोरोना आशंका गरिएकी वीरगञ्जकी एक युवतीको मृत्यु भएको छ। बारा परवानीपुर गाउँपालिका ४ घर भएकी १७ वर्षीया किशोरीको मृत्यु भएको हो।
बिहीबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएकोमा शुक्रबार अपरान्ह उनको निधन भएको नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भीर भएपछि बुधबार उनलाई वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो। ईर्मजेन्सीमा भर्ना भएपछि हेल्थ केयरमा उनको आरडिटी परीक्षण गरिएको थियो।
आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो। पीसीआर परीक्षणका लागि स्वाब गएपनि रिपोर्ट आइनसकेको डाक्टर सिंहले बताए।