चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले कुटपिट गर्दा बिरामी परेका एक युवकको बुधबार मृत्यु भएको छ। पुर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।
प्राप्त विवरण अनुसार, साउने संक्रान्तिका दिन घोंगी (शंखेकीरा) बटुल्ने क्रममा निकुञ्जभित्रको ज्युँडी खोलामा पुगेका राजकुमार चेपाङसहितका सात जना युवा युवतीलाई नेपाली सेनाले आफ्नो नियन्त्रणमा लिएको थियो। ती सबै युवायुवती स्थानीय एक ब्लक फ्याक्ट्रीमा काम गर्ने मजदुर थिए।
राजकुमारसँगै गिरफ्तार भएका उनका एक साथी सन्तलाल प्रजाले आफूहरूलाई नियन्त्रणमा लिएपछि सेनाले कुटपिट गरेको बताए । सेनाको नियन्त्रणमा परेका युवाहरुलाई कुट्ने, मुढा ओसार्न लगाउने र सय–सय पटक पुसअप गराउने सजाय सेनाले दिएको थियो । आफ़ुहरुसंगै सैनिकको नियन्त्रणमा दुई युवतीहरु पनि परेका थिए। तर ती युवतीलाई सैनिकले अपशब्द प्रयोग गरेको भए पनि दुर्ब्यबहार केही नगरेको बताइएको छ।
निकुञ्ज सुरक्षार्थ खटिएका सैनिकले उनीहरुलाई दिनभर यातना दिएपछि साँझ छाडि दिएको पिडितहरुले बताएका छन्। सातै जना सोही दिन छुटे पनि त्यही दिनदेखि बिरामी भएका राजकुमारको भरतपुर अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको हो ।
सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको स्वीकारे पनि कुटपिट नगरेको दाबी गरेको छ । ‘निकुञ्जकै एरियामा आएपछि समाएर निकुञ्ज प्रशासनलाई जिम्मा लगाएको हो, कुटपिट भएकै छैन,’ निकुञ्ज सुरक्षार्थ तैनाथ सेनाको बटुक दल गणका प्रमुख अरुण श्रेष्ठले भने, ‘उहाँहरूले यतिका दिनपछि किन यस्तो आरोप लगाउनुभएको हो, थाहा भएन !’
‘कुटपिट भएको छैन, त्यो पोस्टमार्टम रिपोर्टले नै बताउला,’ गणपति श्रेष्ठले भने, ‘हामीलाई लगाएको आरोप निराधार हो, महिनामा चार सय जना मान्छे समाएका छौं तर कसैलाई कहिल्यै कुटपिट हुने गरेको छैन ।’
मृतकका परिवारले बिहीबार चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईसमक्ष घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालयले पीडितको मागअनुसार शवको पोस्टमार्टम गर्ने जनाएको छ ।