लकडाउन अन्त्य भएको सरकारको घोषणा : त्रिवि अन्तर्गतका क्याम्पस खुले ,लामो दुरीका सवारी साधन भदौ १ खुल्ने

लकडाउन अन्त्य भएको सरकारको घोषणा : त्रिवि अन्तर्गतका क्याम्पस खुले ,लामो दुरीका सवारी साधन भदौ १ खुल्ने


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, ७ साउन २०७७
  • 4.3K
    Shares

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउन मंगलबार मध्यरातबाट अन्त्य भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।

लकडाउन हटेपनि कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहेन सरकारले बताएको छ ।

केही क्षेत्र क्रमशः खुल्नेछन्

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक/कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ ।

क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो ।

यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो ।

गत सोमबारको मन्त्रिपरिषद बैठकले साउन ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गर्ने निर्णय गरेसँगै ७ गतेदेखि क्याम्पस सुचारु हुने त्रिविको सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख सूर्यप्रसाद अधिकारीले बताए ।

सरकारले आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना र परीक्षा सन्चालन गर्ने निर्णयसमेत गरेको छ । सोहीअनुसार त्रिविले भदौ पहिलो साताबाटै परीक्षाहरु लिन सुरु गर्ने तयारी थालेको छ ।

निजी सवारी साधानमा लागू गरिएको जोर विजोर प्रणाली ६ साउनबाटै हटेको छ भने सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय पनि खारेज भएको छ । अब कार्यालयहरु विहान १० बजेदेखि ५ बजेसम्म खुल्लेनछन् ।

यस्तै होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिइएको छ । तर र सामूहिक भोज, पार्टीजस्ता गतिविधि गर्न नपाइने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान तथा मध्यम र लामो दुरीका अन्तरजिल्ला यातायात सेवा पनि भदौ १ गतेबाट खुला हुनेछ ।

यस्तै भदौ १ गतेबाट विद्यार्थी भर्ना र परीक्षा लगायतका गतिविधि गर्न छुट दिएको छ । तर शैक्षिक संस्था खुल्ने छैनन् । अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने मन्त्रिपरिषदको निर्णय छ ।

यसका साथै केही क्षेत्रमा प्रतिबन्ध कायमै राखिएको छ । शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, व्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थलहरु, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना अझै खुल्ने छैनन् ।

सरकारले तोकेका २० नाकाबाट नेपाली नागरिक बाहेक अरुलाई आवागमनमा लगाइएको रोक साउन ३२ सम्म कायमै रहनेछ ।

प्रतिक्रिया