एकल महिलामाथि अमानवीय यातना : ‘बोक्सी’ भन्दै जनप्रतिनिधिको समर्थनमा केश मुण्डन गरेर अर्धनग्न बनाई, कालोमोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा

एकल महिलामाथि अमानवीय यातना : ‘बोक्सी’ भन्दै जनप्रतिनिधिको समर्थनमा केश मुण्डन गरेर अर्धनग्न बनाई, कालोमोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ साउन २०७७
  • 3.8K
    Shares

पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिला

एक्काइसौँ शताब्दीमा पनि जनप्रतिनिधिको सहयोग र समर्थनमा बोक्सीको आरोप लगाएर क्रुर तरीकाले अमानवीय ब्यबहार गरेको खबर सार्वजनिक भएको छ।

पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई “बोक्सी” भन्दै जनप्रतिनिधिको सहयोग र समर्थनमा गाउँलेले केश मुण्डन गरेर अर्धनग्न बनाई, कालोमोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराएका हुन्।

एकल महिलालाई “बोक्सी” भन्दै अमानवीय तरीकाले गाउँ परिक्रमा गराउने छिपहरमाई गाउँपालिका सदस्य सुवास साह कानुलगायत चार जनाले गाउँ छाडेर भागेका छन। तर जिल्ला प्रहरी कार्यालय पर्सा बिरगंजले आरोपित मध्येका ५५ वर्षीय मुन्नीलाल परदेशी भनिने मुन्नीलाल साह कानु, ४० वर्षीय राजदेव शर्मा ठाकुर, ३५ वर्षीया इन्दुदेवी ठाकुर र ३२ वर्षीया सन्ध्या देवीलाई प्रहरीले बुधबार नै पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरी म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुले ती पिडित एकल महिलालाई केशमुन्डन गरी जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँलेले तमासा बनेर हेरिरहे । उनको देब्रे कुम, ढाड लगायत शरीरको विभिन्न भागमा कुटपीटका कारण बनेको निलडाम देखिन्छ ।

पीडित महिला आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिने क्रममा आँसु थाम्न सक्दिनन् । उनका ओठ सुकिसकेका छन् । लामो कपाल काटिएको छ । साडीको आँचलले टाउको छोपेर बस्छिन् । घरी खुट्टाको चोट देखाउँछिन्, त घरी कुटपीटका कारण शरीरमा बनेका निल डाम देखाउँछिन् ।

आफुलाई न्याय दिलाइदिन माग गर्दै पिडित महिला अहिले बिरगंज पुगेकी छिन।  उनी त्यस दिन आफूमाथि आईपरेको बिपत्ति सम्झिदै अघि भन्छिन, ” ‘कुनै सौखले म वीरगञ्ज आएको छैन । मलाई डाइन (बोक्सी) भन्दै केहीले कपाल काटे, दुवै हात गोडा बाँधेर, शरीरको कपडा फुकालेर घिसारे । बोक्सी गाउँमा रहन हुँदैन भनेर कुटपीट गरे,’ उनले भनिन्, ‘उनीहरुलाई जसरी पनि कारबाही हुनुपर्छ ।’

गाउँपालिकाका कार्यपालिका सदस्य सुवास साह कानुलगायत आठ जनाविरुद्ध उनले जिल्ला प्रहरी कार्यालय पर्सामा अमानवीय व्यवहार कसुरमा उजुरी दिएकी छन् ।उनले आफूलाई दुर्व्वहार गर्नेहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिन् ।

आमालाई बचाउन जाँदा एक वर्षदेखि माइतमै बस्दै आएकी जेठी छोरीलाई पनि कुटपिट गरिएको पिडित छोरीले बताइन् । ‘नाबालक छोरासहित न्यायका लागि उनी पनि जिल्लामा आएकी छन् ।

गत बुधबार भएको घटनामा आमामाथि अमानवीय ब्यबहार भएको थाहा पाएपछि उनका १४ वर्षीय छोरा लकडाउनकारण सवारी साधन नपाएपछि हेटौंडाबाट साइकल चढेर बीरगंजसम्म पुगेका थिए। आमा र दिदीसँगै उनी पनि न्यायका लागि प्रहरी प्रशासन धाइरहेका छन् ।

छोरालाई पनि कुटपीट गरेर मारिदिन्छन् कि भन्ने डरले घर आफू जानसमेत नसकेको पीडित एकल महिला बताउँछिन् ।

पाँच छोरी र एक छोराकी आमा उनी सासू, दूधे बालकसहितकी छोरीसहित घरमै बस्थिन् । अन्य चार छोरीको बिहे भइसकेको छ । तीन वर्षअघि श्रीमान गुमाएकी उनीमाथि त्यसपछिका दिनहरुमा तीन पटकसम्म यस्तै दुर्व्यवहार सहनु परेको छ । अघिल्ला घटना भने गाउँमै गुपचुप तरिकाले मिलाइएको थियो ।

सात महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर दुर्व्यवहार भएको थियो । एकल महिला भएका कारण उनको पक्षमा बोलिदिने कोही नभएपछि गाउँघरको मामला भन्दै घटनालाई गाउँमै दबाइएको थियो।

पिडित एकल महिलाको परिवारलाई न्याय दिलाउन यति बेला स्थानीय पत्रकार, महिला अधिकारकर्मी लगायत लागिपरेका छन्।  उनी मानसिक रुपमा विक्षिप्त भएको शंका लागेपछि महिला अधिकारकर्मी र पत्रकारहरुले उनलाई भेटेर सम्झाएका छन् । उनलाई हिम्मत नहार्न र बयान नफेर्न सल्लाह दिँदै अधिकारकर्मीले प्रहरीले गरिरहेको अनुसन्धान र कारबाहीबारे चासोसमेत राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजीत कुँवरले महिलामाथि अमानवीय व्यवहार गर्ने जो कोहिलाई कारबाहीका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘मान्छे भएर मान्छेलाई गर्न नहुने व्यवहार आरोपीहरुले गरेको पाइएको छ,’ उनले भने, ‘पीडितको तर्फबाट जाहेरी आइसकेको छ । बयान लिईसकेका छौं । घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरिसकेका छौं । घटनामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

मुलुकी ऐनको फौजदारी संहितामा कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गरे कसुर गर्ने व्यक्तिलाई ५ वर्षको कैद र ५० हजारसम्मको जरिवाना हुने उल्लेख छ । त्यति मात्रै होइन, कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडा बापत मनासिब क्षतिपूर्ति भराइदिनु पर्ने उल्लेख छ । यस्तो घटनामा कसुर भए गरेको थाहा पाएको मितिले छ महिनाभित्र उजुरी दिन पाइन्छ ।

प्रतिक्रिया