कैलालीबाट बिद्रोही ने.क.पा. को जिल्ला जनसरकार प्रमुखसहित छ जना नेता तथा कार्यकर्ता पक्राउ

कैलालीबाट बिद्रोही ने.क.पा. को जिल्ला जनसरकार प्रमुखसहित छ जना नेता तथा कार्यकर्ता पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ असार २०७७
  • 4.2K
    Shares

बबरजङ्ग सिंह अखिल क्रान्तिकारी केन्द्रीय सदस्य र सुवास जोशी कैलाली जिल्ला अध्यक्ष

कैलालीबाट प्रतिबन्धित नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा गठित कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई प्रहरीले शनिबार राति धनगढी उपमहानगरपालिका–१२ जुगेडाबाट पक्राउ गरेको छ।

प्रहरीले धनगढी उप–महानगरपालीका वडा नम्बर ९ बस्ने जिल्लाका जनसरकार प्रमुख वर्ष ४८ का दल बहादुर बिकसहित ६ जनालाई शनिबार राति पक्राउ गरेको हो। विकसहित पक्राउ पर्नेमा २२ वर्षीय धनगढी-३ का लक्की शाह, वडा नम्बर-२ का ४० वर्षीय डम्बर सुनार, वडा नम्बर-७ का २५ वर्षीय सुवास जोशी छन् । त्यसैगरी त्रिवेणी –८ बाजुराका ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना-५ बझाङका ३० वर्षीय बबरजङ्ग सिंह रहेको प्रहरीले जनाएको छ ।

बबरजङ्ग सिंह अखिल क्रान्तिकारी केन्द्रीय सदस्य र सुवास जोशी कैलाली जिल्ला अध्यक्ष तथा  रावल धनगढी उपमहानगरपालिकाका पार्टी इन्चार्ज भएको  प्रहरीले बताएको छ ।

जिल्ला जनसरकार प्रमुख बिकबिरुद्ध विभिन्न मितिमा आपराधिक क्रियाकलापमा संलग्न रही फरार रहेको प्रहरीको दाबी छ। उनीमाथि राजद्रोह, कर्तव्य ज्यान, हातहतियार खरखजाना, विस्फोटक अ पदार्थ तथा संगठित अपराधको आरोप रहेको प्रहरीको भनाई छ।

‘कसैको श्रद्धाञ्जलीको कार्यक्रममा जाँदै गर्दा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका  प्रवक्ता तथा प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सेती–महाकाली क्षेत्रीय समन्वय समितिका संयोजक विरेन्द्र शाहले आइतबार विज्ञप्ति निकाली धनगढीको जुगेडाबाट केन्द्रीय सदस्य बबरजङ्ग सिंह र कैलाली जिल्ला अध्यक्ष सुवास जोशीलाई प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरी झुठा मुद्दामा फसाउने षड्यन्त्र गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले, दलाल, भ्रष्ट केपी–बादल कम्पनीको निर्देशनमा आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गएर पदको दुरुपयोग गर्दै अति उत्तेजित नबन्न र कानुनको खिल्ली नउडाउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई आग्रह गर्दै राज्यको श्वेत आतंकका विरुद्धमा उभिन सम्पूर्ण पत्रकारहरु, मानवअधिकारकर्मी, कानुनी व्यवसायी, विद्यार्थी साथीहरूलगायत सबैलाई अपिल समेत गरेका छन् ।

‘शान्तिपूर्ण रुपमा भेला, सम्मेलन र विरोध प्रदर्शन गर्न पाउने मौलिक हक र मानवअधिकारका सम्पूर्ण मुल्यमान्यताहरुलाई लत्याउदै कलम बोक्ने विद्यार्थी नेताहरुलाई जबर्जस्ती बन्दुक बोक्न बाध्य बनाउने राज्य र त्यसका सुरक्षा निकायको रवैया घिनलाग्दो छ ।’ भन्दै संयोजक शाहले विज्ञप्तिमा भनेका छन्, ‘गिरफ्तार गरिएका विद्यार्थी नेता साथीहरूको नि:सर्त र स–सम्मान रिहाईको जोडदार माग गर्दछौं । अन्यथा दलाल सरकार र त्यसका मतियारहरुका विरुद्धमा प्रतिरोध संघर्ष गर्ने कुरा यसै प्रेस विज्ञप्ति मार्फत सम्प्रेषण गर्दछौं ।’

प्रतिक्रिया