नेपाली नागरिकता लिने भारतीय मित जेलमा, सिफारिश गर्ने वडाध्यक्ष र कर्मचारी राजनीति र जागीरको खेलमा

नेपाली नागरिकता लिने भारतीय मित जेलमा, सिफारिश गर्ने वडाध्यक्ष र कर्मचारी राजनीति र जागीरको खेलमा


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, १३ असार २०७७
  • 4.8K
    Shares

जिल्ला प्रशासन कार्यालय दाङ

झुठो विवरण पेश गरेर नेपाली नागरिकता लिएका एक भारतीय नागरिक अहिले दाङ कारागारमा बन्दी जीवन बिताइरहेका छन्।  तर उनलाई नेपाली नागरिकता लिन सिफारिश गर्ने वडाध्यक्षसहितका कर्मचारीहरुलाई प्रहरीले पक्राउ गरेको छैन।  प्रहरीको फरार सूचीमा रहेका उनीहरु अहिले निस्फिक्रीका साथ खुल्ला रुपमा हिडिरहेका छन्।

प्रहरीले दिएको जानकारी अनुसार, झुठो विवरण पेश गरेर दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ बाट नेपाली नागरिकता लिएका भारतको बलरामपुर जिल्लाका विशाल कुमार अहिले दाङ कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

उनलाई नेपाली नागरिकता दिन सिफारिश गर्ने घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, हिरालाल दमाई,, त्रिपुरा खड्का, लिला अधिकारीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ।  उनीहरु सबैलाई प्रहरीले फरार सूचीमा राखेर खोजी भैरहेको जनाएको छ।

तर, वडाअध्यक्ष चौधरी बिहीबारको घोराही नगरसभामा उपस्थित थिए । अन्य आरोपीहरु पनि कार्यालयमा नियमित काममा गइरहेका छन् । वडा सचिव रेग्मीले आफूहरु फरार नभएको र अदालतमा उपस्थित हुने बताएका छन् ।

प्राप्त विवरण अनुसार, २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका भारतको बलरामपुर जिल्लाका विशाल कुमार गुप्ताले  ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ ।

भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट दिलाइएको नेपाली नागरिकता
भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट दिलाइएको नेपाली नागरिकता

हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं. ३ बर्गद्दाका वासिन्दा हुन् । हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं. ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट नेपाली नागरिकता दिएको हो ।

भारतबाट मजदुरी गर्न दाङको घोराही आएका गुप्ताले घोराहीकै सम्झना नेपालीसँग बिहे गरेर एउटा बच्चा पनि जन्मियो । बच्चाको जन्मदर्ता गराउने बेला विशाल भारतीय नागरिक भएकाले समस्या आयो । विशाल भारतीय नागरिक भएकै कारण विवाह दर्ता पनि भएको थिएन ।

त्यसपछि विशालकी श्रीमती सम्झना नेपालीले नाताले मित मामा पर्ने हिरालाल दमाईसँग विशाललाई नेपाली नागरिकता दिलाइदिन अनुरोध गरिन् । त्यसपछि हिरालालले सुरुमा बंगलाचुली–३ बाट बसाइँ सरेर घोराही उपमहानगरपालिका वडा नं. ३ मा बस्दै आएको बसाइँसराइँको निवेदन घोराही उपमहानगरपालिका वडा नं. ३ को कार्यालयमा २०७५ मंसिर २३ गते दर्ता गराए । त्यसको दुई दिनपछि विशाललाई आफ्नो छोरो मितबहादुर भन्दै नागरिकताको सिफारिस बनाएर सोही दिन जिल्ला प्रशासन कार्यालयबाट वंशजको आधारमा नागरिकता दिलाउन सफल भए ।

अचम्म त के छ भने भारतीय नागरिकलाई विशाललाई घोराही उपमहानगरपालिका वडा नं. ३ को सिफारिसमा बंगलाचुली गाउँपालिका वडा नं. ३ को ठेगाना राखेर नागरिकता दिलाइएको छ ।

गलत विवरण पेश गरी नेपाली नागरिकता लिएको कुरा डेढ वर्षपछि खुलासा भएपछि प्रहरीले विशाल कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घोराहीस्थित उनको डेरामा छापा मार्दा प्रहरीले भारतीय विशिष्ट पहिचान प्राधिकरणले दिएको आधार कार्ड बरामद गरेको छ ।

मित्बहादुर दमाइको नाममा नागरिकता लिएका विशाल कुमारको भारतीय परिचय पत्र
मित्बहादुर दमाइको नाममा नागरिकता लिएका विशाल कुमारको भारतीय परिचय पत्र

प्रतिक्रिया