कोरोना भाइरसको महामारीमा तीन महिनाको तलब नदिएको र कार्यरत पत्रकारहरुको कटौती कुरा आएपछि नेपालकै चर्चित अन्नपूर्ण पोस्ट दैनिकका प्रधानसम्पादक हरिबहादुर थापाले राजीनामा दिएका छन्।
बिहीबार अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापालाई प्रधानसम्पादक थापाले राजीनामा पत्र बुझाएको समाचारस्रोतले जनाएको छ। ०७५ साल साउन १६ गते अन्नपूर्ण पोष्टको प्रधानसम्पादकमा नियुक्त भएका थापाको पछिल्लो समय अन्नपूर्ण मिडिया नेटवर्क ब्यबस्थापनसंग पत्रकार ब्यबस्थापन र तलब उपलब्ध गराउने बारे बिबाद हुँदै आएको थियो।
व्यवस्थापनले पत्रकार तथा कर्मचारीको तलब दिन आनाकानी गरेपछि प्रधानसम्पादक थापाले पत्रकारलाई समयमै पारिश्रमिक उपलब्ध गराउनु पर्ने अडान राख्दै आएका थिए। फागुनदेखि अन्नपूर्ण पोष्टले जिल्ला संवाददातालाई तलब नदिएको र काठमाडौंका पत्रकारलाई पनि आधा तलबमा काम गर्न दबाब दिएको स्रोत बताउँछ।
अन्नपूर्ण मिडिया नेटवर्क स्रोतका अनुसार थापाले दिएको राजीनामा स्वीकृत भइसकेको छैन। नेटवर्कका अध्यक्ष रामेश्वर थापाले नयाँ प्रधानसम्पादक नियुक्त नभएसम्म थापाको राजीनामा स्वीकृत नगर्ने बताएको स्रोतको दाबी छ।
प्रधानसम्पादक थापाले अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार कर्मचारीमध्ये आधा मान्छे घटाउने र बाँकी रहेका पत्रकार कर्मचारीहरुलाई आधा तलब दिनुपर्ने भनिएपछि आफूले राजीनामा दिएको जानकारी दिए। उनले, यो महासंकटको समयमा साथीभाइहरुको जागिर खाइदिँदा जिन्दगीभरका लागि कलङ्कित हुने अवस्था सिर्जना हुने भएकाले आफुले राजिनामा दिएको उल्लेख गर्दै जिन्दगीभर कलङ्कित हुने काम आफूबाट हुन् नसक्ने प्रस्ट्याए। उनले अघि भने, ‘बरु दालभात मात्रै खाएर भए पनि यो संकट पार गरौंला तर मेरो सिफारिसमा आधा पत्रकार कर्मचारीलाई हटाउने र बचेका आधालाई पनि आधा तलब दिने काम मबाट हुनसक्दैनथ्यो ।’