भारतबाट मजदुरी गरेर फर्किएका नेपालीहरुलाई बोकेर क्वारेन्टाइन लैजाँदै गरेको टिपर कालिकोटको लालीघाटमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य दुई जना बेपत्ता छन् र आठ जना जना घाइते भएका छन् ।
कालीकोटको रास्कोटस्थित क्वारेन्टाइनतर्फ जादै गरेको ना–८ ख ५१३३ नम्बरको टिपर दुर्घटना भएको थियो । दुर्घटना परी रास्कोट–२ की २३ वर्षीया शर्मिला सार्की र २१ वर्षकी थुम्की सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । प्रहरीका अनुसार रास्कोट–२ कै ३१ वर्षीया मन्ना कुमाल र २ वर्षीया बालिका काली सार्की बेपत्ता छन् । सामान्य घाइते ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते २ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ ।

प्रहरीका अनुसार अनुसार टिपर कर्णाली करिडोरस्थित सडकबाट करिब ३० मिटर तल कर्णाली नदीमा खसेको थियो । टिपर छाडेर भागेका चालक रास्कोट–८ का रंगनाथ धमालालाई प्रहरीले सान्नीगाडबाट पक्राउ गरेको छ ।

प्रहरीले यो दुर्घटनाको कारण टिपरका चालक भएको बताएको छ । यात्रुसँग विवाद हुँदा चालकले स्टार्ट बन्द नगरी गाडीबाट झरेर हिँडेपछि दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबावु ओलियाले जानकारी दिए। यात्रुसँगको झगडापछि हातपात भएको र चालकले टिपरको स्टार्ट बन्द नगरी छोडेर हिँडेको प्रहरी र यात्रुले बताएका छन् ।
सबै जनालाई एउटै टिपरमा कोचाकोच गर्न खोजिएपछि ‘साघुँरो भयो हामी झर्छौ ‘ उनले भनिन्, ‘चालकलाई केही यात्रुले हातपात गरेपछि गाडी छाडेर भागे ।’
यात्रुले चालकलाई बस्ने ठाउँ साघुँरो भएको भन्दै कुटेपछि विवाद भएको जानकारी आएको रास्कोट नगरपालिकाका नगरप्रमुख काशीचन्द्र बरालले बताए ।
भारतबाट आएका १३ महिला र २६ पुरुषलाई लालीघाट क्वारेन्टाइनमा राख्न टिपरमार्फत ओसारिएको थियो । घाइतेको उद्धार गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालीकोट पुगेका थिए । बेपत्ताकाे खाेजी कार्य अझै जारी रहेको बताईएको छ ।