आफु बिदामा बसेको बेलाको रासनको रकम खाएको भन्दै सिमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको एक युनिटका कमान्डरसहित दुई जनालाई सोही युनिटमा कार्यरत अन्य अन्य प्रहरी कुटेका छन्।
कैलालीस्थित नेपाल–भारत सीमा भुइयाफाँटा बोर्डर आउट पोष्ट (बीओपी) मातहत रहेको अस्थायी चेक पोष्ट, बड्किपलिघाटका प्रमुख सई रामबहादुर टेर र हवल्दार दौलतसिंह धामी सोही युनिटमा कार्यरत अन्य प्रहरी जवानबाट कुटिएका हुन् । उनीहरुलाई त्यहीँ कार्यरत सशस्त्र प्रहरी जवान जितेन्द्रप्रसाद भट्ट र दिपक बोगटीले शनिबार साँझ कुटपिट गरेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ । त्यस कुटाकुटका क्रममा छ जना घाइते भएका छन् । कुटपिट हुन थालेपछि छुट्टयाउन गएका पनि घाइते भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भएको छ।
यसैबीच, त्यस घटनाको विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बलको मुख्यालयले ७ नं. बाहिनीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भेषबहादुर शाहको नेतृत्वमा छानविन समिति बनाएको छ । सो समितिमा एक जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र एक जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) सदस्य रहेको बताइएको छ।
समितिले गरेको प्रारम्भिक छानविनमा दुई जना जवानले मादक पदार्थ सेवन गरेर कुटपिट गरेको निष्कर्ष निकालेको छ । साथै, उनीहरुलाई कारबाही गर्न सिफारिस गर्ने निर्णय गरेको छ । जवानले विदामा बसेको बेलाको रासनमा अनियमितता गरेपछि कुटेको बयान दिएका छन् । त्यससम्बन्धमा पनि छानविन भइरहेको जनाइएको छ ।