गण्डकी प्रदेशमा एकैदिन ३८ जना कोरोना संक्रमित, जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका थुनुवामा पनि कोरोना पुष्टि

गण्डकी प्रदेशमा एकैदिन ३८ जना कोरोना संक्रमित, जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका थुनुवामा पनि कोरोना पुष्टि


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, २५ जेष्ठ २०७७
  • 6.2K
    Shares

गण्डकी प्रदेशमा आइतबार बिहानसम्म संक्रमितको संख्या एकसय १३ पुगेको छ । शनिबार एकैदिन ठूलो संख्यामा  ३८ जना कोरोना संक्रमित थपिएसंगै गण्डकी प्रदेशमा संक्रमित संख्या एकसय १३ पुगेको हो।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमा स्याङ्जाका मात्र १४ रहेका छन् । त्यस्तै गोरखा र बागलुङका १०/१०जना छन् । गोरखा जिल्लामै पहिलो पटक संक्रमित भेटिएका हुन् । यसअघि कञ्चनपुरमा कार्यररत गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

गोरखा गण्डकी गाउँपालिकाका ९ जना पुरुष र पालुङटार नगरपालिकाका एक किशोरमा संक्रमण देखिएको हो । पालुङटार नगरपालिकाका किशोर जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेको प्रहरीले पुष्टि गरेको छ ।

गण्डकी गाउँपालिकाका बाँकी ९ जना संक्रमित मध्ये भारत बाट आएका ४-४ जना घ्याल्चोक स्थित भीमोदय विद्यालय,दर्बुङ स्थित रत्नेश्वर मावि र काभ्रेबाट आएका १ जना घ्याल्चोककै ज्ञानमार्ग माध्यमिक विद्यालयको क्वारेन्टीनमा रहेको गण्डकी गाउँपालिकाका अध्यक्ष होम बहादुर रानाले बताए ।

त्यस्तै पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका ४ जनामा संक्रमण देखिएको हो । संक्रमित सबै पुरुष रहेको र १७ देखि ५२ वर्षसम्मका उमेरका छन । उनीहरु सबै हालैमात्र भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा शनिबार राति उनीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशक तथा प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदबिन्दु शर्माले संक्रमितलाई सम्बन्धित जिल्लाको अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताए ।

प्रतिक्रिया