दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्रीस्तरीय बैठक सोमवारदेखि पोखरामा सुरु भएको छ ।चार दिने बैठकको पहिलो दिन सार्क डेक्स हेर्ने सहसचिवस्तरीय कार्यक्रम समितिको बैठक सुरु भयो । दुई दिनसम्म चल्ने कार्यक्रम समितिको बैठकमा पहिलो दिन अघिल्लो कार्यक्रम समितिको बैठकका निर्णय कार्यन्वयनबारे समिक्षा भएको छ । ‘पहिलो दिन अघिल्लो कार्यक्रम समितिले गरेका निर्णय कार्यन्वयन भए/नभएको समिक्षा गर्नुको साथै कार्यन्वयन गर्न के गर्नुपर्ला भन्नेबारे छलफल भयो’ बैठकको अध्यक्षता गरिरहेका मणि प्रसाद भट्टराईले भने । त्यो सँगै अन्य चारवटा विभिन्न एजेण्डामाथि छलफल गरिएको उनले बताए ।
‘सार्कको स्पेसलाईज वडी अन्तर्गत साउथ एसियन युनिर्भसिटी, सार्क डिभलपमेण्ट फण्ट, सार्क आर्विटेशन काउन्सिल र साउथ एसियन रिजनल अर्गनाइजेशनबारे छलफल भएको छ’ पत्रकार सम्मेलनमा भट्टराईले भने । पहिलो चरणको छलफल सकिएपनि निश्कर्षमा भने नपुगेको उनले बताए । ‘एक चरणको छलफल सकिएपनि सर्वसम्मत निर्णयमा पुगिसकेका छैनौ,’ उनले भने ‘भोलि रिपोर्टको डिस्कसन हुदा लाईन वाई लाईन÷ प्याराग्राफ वाई प्याराग्राफ छलफल हुन्छ, त्यसपछि निर्णयको प्रतिवेदन तयार हुनेछ ।’
५२ औं कार्यक्रम समिति बैठक भोलि पनि चल्नेछ । पाँच तारे होटल पोखरा ग्राण्डमा सुरु भएको बैठकको तेस्रो दिन ४२ औं सचिव स्तरीय बैठक र चौथो तथा अन्तिम दिन ३७ औं विदेशमन्त्री स्तरीय बैठक हुनेछ । विदेशमन्त्री स्तरीय बैठकको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्नेछन् । बैठकमा सहभागी हुन सबै सदस्य मुलुकका विदेशमन्त्री चैत्र ३ गते काठमाडौं विमानस्थलबाट सिधै पोखरा आउनेछन् ।
बैठकमा ६ सदस्य मुलुकका विदेशमन्त्री उपस्थित हुनेछन् भने अफगानिस्तानबाट उपविदेशमन्त्री र पाकिस्तानबाट प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकारले सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालका तर्फबाट उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाली विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अबुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् ।