नेपालमा सोमबार साँझसम्म ३६ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ भने कुल चारसय दुईजना कोरोना संक्रमित भएका छन्।
सोमबार मात्र थप २७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। थपिएका संक्रमितमध्ये उपत्यकाका मात्र पाँच जना छन् । ती पाँच जना संक्रमित मध्ये पनि एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न एक चिकित्सक डाक्टर छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा कार्यरत ती डाक्टर कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।
नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एक/एक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा एक सय ३६, वागमतीमा २७ र गण्डकी प्रदेशमा चार जना छन् भने प्रदेश ५ मा एक सय ७६, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा पाँच जना छन् ।