क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाको विरोध

क्वारेन्टाइनमा बसेका युवकको मृत्यु, उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाको विरोध


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ जेष्ठ २०७७
  • 4.7K
    Shares

नरैनापुरको क्‍वारेन्टाइनस्थल

बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएपछि स्थानीय जनताले बिरोध गरेका छन्।  । नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएको हो । क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लागेको थियो ।उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् ।

क्वारेन्टाइनका इन्चार्ज प्रेम बुढाका अनुसार मृतकलाई राति अचानक बान्ता आएपछि जीवनजल खान दिइएको थियो । जीवनजल खाएको दुई घन्टासम्म पनि उनको बान्ता नरोकिएको र उनको मृत्यु भएको बुढाले जानकारी दिए ।

दिपेन्द्र प्राविको क्वारेन्टाइनमा रहेका चार जनामा यसअघि कोरोना संक्रमण पुष्टि भइसकेको छ । बान्ता भएकै कारण युवकको मृत्यु भएकाले क्वारेन्टाइनमा रहेका २ सय ३ जनासहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत त्रासमा रहेको बुढाले बताए ।

मृतक युवक भारतको महाराष्ट्रदेखि आएका थिए । हिँडेरै आएका उनी सीमामा हप्तौ बसेको इन्चार्ज बुढाले जानकारी दिए । नरैनापुर गाउँपालिकामा भारतदेखि आएका ५ सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । जसमध्ये पीसीआर परीक्षणबाट ८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ ।

मृतक युवकको मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले बताए ।

प्रतिक्रिया