कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको सरकारद्वारा अन्त्येष्टिको तयारी, नेपाली सेनाका पृतनापतिलाई पनि कोरोना संक्रमण

कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको सरकारद्वारा अन्त्येष्टिको तयारी, नेपाली सेनाका पृतनापतिलाई पनि कोरोना संक्रमण


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ३ जेष्ठ २०७७
  • 4.4K
    Shares

नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट  एक सुत्केरी महिलाको मृत्यु भएको छ भने नेपाली सेनाका एक उच्च अधि कारीलाई कोरोना संक्रमण भएको समाचारहरु सार्वजनिक भएका छन्।

काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा सामान्य तरीकाले सुत्केरी भएर घर गएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिला सावित्री तिमिल्सिनाको गएराती काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।  वैशाख २३ गते मा त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर उनी २५ गते घर फर्किएकी थिइन् । ज्वरो आउने र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि स्थानीय अस्पताल हुँदै धुलिखेल आइपुगेकी उनको बिहीबार निधन भयो ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधिमा हालसम्म शवको संसर्गबाट रोग अर्को व्यक्तिमा सरेको प्रमाण फेला नपरे पनि सावधानी अपनाउने भनिएको छ । साथै, शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने पनि भनिएको छ ।

मृतकको जथाभावी सदगतलाई पनि निषेध गरिएको छ । शवलाई अस्पताल/घरबाट अन्तिमसंस्कार गर्न लैजाने क्रममा अस्पतालका कर्मचारी, एम्बुलेन्स, सदगत गर्ने व्यक्तिहरु र सहभागी हुने आफन्तले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्ने भनिएको छ । साथै, शवलाई कमभन्दा कम चलाउने भनिएको छ । शवको कुनै भागबाट श्राव भइरहेको भए त्यसलाई होसियारीपूर्वक बन्द गर्नुपर्ने भनिएको छ ।

‘६० वर्षमाथिका व्यक्ति र दीर्घ रोगीहरुलाई शवको नजिक जानबाट रोक्नुपर्छ’, कार्यविधिमा भनिएको छ, ‘सदगत गर्नुपूर्व आफ्नो कुल/परम्परा अनुसार शवलाई नछोइकन जल छर्कने, पाठ गर्ने तथा फूलमाला चढाउने जस्ता क्रियाकलाप गर्न सकिनेछ ।’

मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइ कम्तीमा एक मिटर टाढाबाट एक/एक जनालाई पालैपालो गरी हेर्न दिन सकिने कार्यविधिमा उल्लेख छ ।

कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको सामान्यता पोष्टमार्टम गर्नु नपर्ने पनि कार्यविधिमा भनिएको छ । साथै, गर्नै परे पनि मृतकको फोक्सो तथा अन्य अंगहरुमा जिवाणु जिउँदै हुनसक्ने हुनाले थप होसियारी अपनाउनुपर्ने भनिएको छ ।

धुलिखेलमा मृत्यु भएकी महिलाको घर र माइती गाउँ सिल

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको गाउँ र माइती गाउँलाई सिल गरिएको छ । उनको गाउँ बाह्रबिसे नगरपालिका – ९ राम्चे र माइती गाउँ बलेफी गाउँपालिका ७ र ८ लाई सिल गरिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।

अब ती वडाबाट कोही व्यक्ति बाहिर आउन र वडाभित्र प्रवेश गर्न पाउने छैनन् । धुलिखेल अस्पतालमा २९ वर्षकी सुत्केरी महिलाको मृत्यु भएको र उनी कोरोना भाइरसको सम्भावित संक्रमित रहेकाले पूर्वतयारी स्वरुप उनको गाउँ र माइती गाउँ क्षेत्रमा सचेतना अपनाइएको उनले बताए । माइती गाउँबाट आफन्तहरु ती महिलालाई भेट्न गएकाले त्यो गाउँ पनि सिल गरिएको हो ।

शनिबार सिन्धुपाल्चोकमा बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले क्षेत्रका वासिन्दालाई घरबाहिर निस्कन नदिने र गाउँलाई सिल गर्न प्रहरी र सेना परिचालन हुन अनुरोध गर्ने निर्णय गरेको छ ।

महिलाले हालै स्वास्थ्य जाँच गराएको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने र क्वारेन्टाइनमा राख्ने पनि निर्णय भएको छ ।

नेपाली सेनाका पृतनापतिलाई पनि कोरोना संक्रमण 

नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको समाचारहरु सार्वजनिक भैरहदा नेपाली सैनिकमा पनि पहिलो पटक त्यही पनि नेपालि सेनाका उच्च अधिक्रारीलाई पनि कोरोन संक्रमण भएको समाचार सार्वजनिक भएका छन्।

नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको समाचारहरु सार्वजनिक भएको छ ।

स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेलाई उद्धृत गर्दै बिभिन्न संचार माध्यमहरुले लेखेको समाचार अनुसार, उनीहरु नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत हुन्।  तर सुरक्षा सम्बद्ध उच्च स्रोतको हवाला दिदै अनलाइनखबरले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको समाचार लेखेको छ।  मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।

सेनाको पृतनामा चिकित्सकसहितको सुविधा पनि छ । त्यसैले उनलाई बाहिरको अस्पतालमा राख्ने वा ब्यारेकमै आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सैनिक अधिकारीको दर्जा थाहा भइनसकेको दाबी गरे । यद्यपि कन्ट्याक ट्रेसिङको कार्य भने थालिसकिएको उनले जनाए ।

महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएपनि थप विवरण बताउन नमिल्ने बताए ।

प्रतिक्रिया