नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एकसय नौ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित फेला परेका हुन् ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीका अनुसार शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।
नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० जना पुगेको छ । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुन: भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुन: अस्पताल भर्ना गरिएको छ ।