निर्माता संघको चुनाव रोक्न अदालतको आदेश

निर्माता संघको चुनाव रोक्न अदालतको आदेश


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, १३ पुष २०७३
  • 10.9K
    Shares

नेपाल चलचित्र निर्माता संघको १५ पुषमा हुन लागेको अधिवेशन तथा नयाँ कार्यसमितिको निर्वाचन रोक्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । नेपाल चलचित्र निर्माता संघको १५ पुसमा हुन लागेको कार्यसमिति निर्वाचनविरुद्ध सो अदालतमा गोल्डेन आई फिल्मस् प्रालिका तर्फबाट सञ्चालक एवं निमाता संघका सदस्य नवराज खड्का (नवल खड्का) ले हालेको उजुरीउपर सो अदालतले बुधबार अन्तरिम आदेश जारी गर्दै १५ गते हुने भनिएको सो निर्वाचन रोक्न निर्देशन दिएको छ ।

 

सो निर्वाचन किन गर्न लागिएको भन्दै १५ दिनभित्र पुनरावेदन सरकारी वकिल कार्यालय, पाटनमार्फत लिखित जवाफ पेस गर्न पनि सो अदालतले नेपाल चलचित्र निर्माता संघलाई सूचनामार्फत आदेश जारी गरेको छ ।

सो अदालतले जारी गरेको निर्देशनमा लेखिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सम्बन्धमा विचार गर्दा नेपाल चलचित्र निर्माता संघको विधान, २०५५ को दफा १३ (ख) मा साधारण सभाको बैठक बेलाउँदा कम्तीमा २१ दिनअघि बैठक बस्ने स्थान, मिति, समय र छलफल हुन तोकिएका विषयहरूको कार्यसूचीसहितको सूचना गर्नु अवस्था रहेको देखियो ।’

निर्देशनपत्रमा अगाडि लेखिएको छ, ‘निवेदकले निवेदन साथ पेस गरेको कागजातबाट जिल्ला प्रशासन कार्यालयबाट मिति २०७३/९/३ मा २०७३/९/१५ भित्र साधारण सभा सम्पन्न गर्न भनी निर्देशन गर्ने निर्णय भएको र सोअनुसार २०७३÷९÷१५ गते साधारण सभा गर्नको लागि २१ दिनभन्दा कम समय दिई प्रकाशित भएको सूचना उक्त विधानको १३ (ख)विपरीत देखिएको छ ।’

निर्देशनमा अगाडि देखिएको छ,‘उक्त मितिमा हुने भनिएको साधारण सभा सम्पन्न नगर्नू नगराउनू भनी विपक्षी नेपाल चलचित्र निर्माता संघका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेशसमेत जारी गरिदिएको छ ।’

यसरी निर्माता संघका सदस्यसमेत रहेका नवल खड्काले सो अदालतमा हालेको उजुरीका आधारमा उच्च अदालत पाटनले नेपाल चलचित्र निर्माता संघलाई १५ पुसमा हुने भनिएको साधारण सभा रोक्न आदेश दिएको हो । सो साधारण सभाले नयाँ कार्यसमितिसमेत चयन गर्नेछ ।

प्रतिक्रिया