वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज आइतबार साँझ ५ बजे बसेको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो। त्यस्तै सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३० सम्म अवागमन रोक्ने निर्णय गरेको छ ।
यसअघि कोरोना भाइरस रोकथाम सुरक्षार्थ सरकारले वैशाख १५ गते लकडाउन गर्ने निर्णय गरेको थियो। शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले सरकारलाई लकडाउन १ हप्ता लम्ब्याउनको लागि सुझाव दिएको थियो। भोलिबाट लकडाउन अवधि सकिँदैछ।
नेपालमा कोरोना भाइरसको दोस्रो संक्रमित देखिएपछि सरकारले ११ चैतदेखि लकडाउनको आदेश जारी गरेको थियो । पहिलोपटक चैत १८ गतेसम्मका लागि लकडाउनको आदेश जारी गरिएकोमा दोस्रो पटक चैत २५, तेस्रो पटक वैशाख ३ र तेस्रो पटक वैशाख १५ गतेसम्मका लागि थपिएको थियो। यसबीचमा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेर ५२ पुगेको छ भने १६ जना उपचार पछि निको भएर घर फर्किएका छन्।
नेपालमा पहिलोपटक गत माघ ९ गते कोरोना भाइरसका संक्रमित भेटिएका थिए। उनी करिब २ हप्ताको अस्पताल बसाइ पछि कोरोना मुक्त भएर घर फर्किएका थिए। पहिलो संक्रमितसहित नेपालमा हालसम्म १६ जना घर फर्किसकेका छन् भने ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
संक्रमितहरुमध्ये धनगढीको सेती प्रादेशिक अस्पतालमा १, वीरगन्जको नारायणी अस्पतालमा ३, चितवनको भरतपुर कोरोना अस्पतालमा १, विराटनगरको कोशी अस्पतालमा ३० जनाको उपचार भइरहेको छ। यस्तै, आइतबार साँझ मात्रै कोरोना संक्रमणको पुष्टि भएका झापाका ५० वर्षीय पुरुषलाई पनि विराटनगरस्थित कोशी अस्पताल ल्याउन लागिएको छ।