र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी वीरगञ्जकी २३ वर्षीया युवतीको मृत्यु


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १४ बैशाख २०७७
  • 4.8K
    Shares

नारायणी उपक्षेत्रीय अस्पताल

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।

उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ । उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

पारिवारिक स्रोतले दिएको जानकारी अनुसार ब्लड क्यान्सरको बिरामी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।

गएको शनिबार राति १० बजेतिर तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएकी उनको अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्‍यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।

उनको इङ्गेजमेन्ट (टीकाटालो) भइसके पनि बिहे हुन बाँकी थियो । उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।

प्रतिक्रिया