गरीब र मजदुरको नाममा हुनेखानेले राहत लिएको समाचारहरु त सार्वजनिक भएका छन् नै, तर नवलपरासीमा हुनेखानेलाई पनि राहत दिनु पर्ने माग राखेर गरिएको वडा कार्यालय तालाबन्दी पछि झडप भएको छ। सो झडपमा परि एक जना जुनियर प्रहरी अधिकृत घाइते भएका छन् भने सो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्राप्त समाचार अनुसार, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–१७ देवगावमा रामग्राम नगरपालिकाले बुधबारदेखि वडा कार्यालयमार्फत असङ्गठित क्षेत्रका मजदूर तथा अति विपन्नवर्गका करीब दुई सय घरधुरीका लागि राहत वितरण शुरु गरेको थियो ।
त्यही बेला केही स्थानीय बासिन्दाले ‘हुनेखानेले पनि राहत पाउनुपर्ने’ भन्दै बिबाद निकालेर वडा कार्यालयमा तालाबन्दी गरिदिएको वडाध्यक्ष जीतबहादुर गोसाईँले जानकारी दाबी गरे । त्यसपछि तालाबन्दी खोल्न पुगेको प्रहरीसँग त्यही समूहमा रहेका स्थानीयवासीले आक्रमण गरेको उनले स्पस्ट पारे।

वडा कार्यालयमा भएको तालाबन्दी खोल्न पुगेका प्रहरी टोलीमाथि सोही समुहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार, सो आक्रमणमा परि प्रहरीचौकी गोबरहियामा कार्यरत प्रसनि चामबहादुर ओली घाइते भएको र उनको टाउकामा चोट रहेको लागेको छ । सो आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले संलग्न रहेको आरोपमा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको जनाइएको छ ।
