उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण : उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण : उदयपुर जिल्ला सिल गर्ने प्रदेश सरकारको निर्णय


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, ९ बैशाख २०७७
  • 5.6K
    Shares

उदयपुरको भुल्केमा थप ८ जनामा कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएसँगै प्रदेश सरकारले मंगलबारबाट पुरै जिल्लालाई चारैतिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताए। मन्त्री कार्कीका अनुसार, स्थानीय प्रशासनले जिल्लाभरी लकडाउन गरिसकेको र जिल्ला पनि सिल गर्ने तयारी गरिररहेको छ ।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो।

कोशी अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनीहरुमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको र ८ जनामा कोरोना संक्रमण देखिएको थियो। एकजनाको रिपोर्ट आउन बाँकी छ।

थप यकिन गर्न आठजनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गर्दासमेत संक्रमण देखिएको पुष्टि भएको प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।

यससँगै भुल्केमा संक्रमितको संख्या २२ पुगेको छ। उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीयमध्ये ११ र विराटनगर–१७ का एकजनामा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। विराटनगरका एकजनामा शनिबार संक्रमण भेटिएको थियो।

नेपाली सेनाको सहयोगमा मस्जिद भएको बस्ती वरपरका २ सय ५१ जनाको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका काठमाडौं लगिएकोमध्ये एकजनामा संक्रमण भेटिएको छ।

प्रतिक्रिया