नेपाल र नेपाली जनताको स्वास्थ्य क्षेत्र सुधारका लागि सत्याग्रह स्वरुप १६ पटकसम्म आमरण अनसन बसेका प्रा. डा. गोविन्द केसीलाई यतिबेला हरेक नेपालीले सम्झिरहेका छन्। बिश्वब्यापी महामारी चलिरहेका बेला डा. केसी कता छन् भनेर सबैले सोधिरहेका छन्।
सरकारी जागिरे जीवनबाट अवकाष लिएका डा. केसी यतिबेला डडेल्धुरा अस्पतालमा रहेर बिरामी जांच गरिरहेका छन्। जताततै लक डाउनकाकारण सवारी साधन नचलेर धेरै बिरामीले दु:ख पाईरहेको अवस्थामा प्रा. डा. गोविन्द केसीले बिरामीलाई सरकारी गाडीमा अस्पताल ल्याउने व्यवस्था गर्न माग गरेका छन् । लक डाउनकाकारण दूरदराजका विरामीहरु निजी गाडीलाई २० देखि ३० हजारसम्म तिरेर अस्पताल आउन बाध्य भैरहेको तथ्यलाई उजागर गर्दै डा. केसीले यातायात सेवा सुचारु नहुन्जेलका लागि सरकारी गाडीहरुमा बिरामीलाई अस्पताल ल्याउने विशेष व्यवस्था गर्न सरकारलाई अपिल गरे ।
रकम अभावमा कतिपय बिरामीहरु अस्पतालै नआई गम्भीर समस्या वा चोटपटकको पीडा सहेर बस्नु परेको भन्दै उनले भनेका छन्, ‘त्यसका कारण समयमै उपचार गर्दा निको हुने समस्याहरुपछि समेत अनेक जटिलता र अपांगता देखिने तथा असामयिक मृत्युसमेत हुने अवस्था’ छ ।’